कांग्रेसको वडा अधिवेशन लम्बियो, ६३ जिल्लामा सम्पन्न, बाढी प्रभावित तीन जिल्लामा बाँकी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबार र आइतबारभित्र सम्पन्न गर्ने भनिएको वडा अधिवेशन सोमबारसम्म पनि पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार ६३ जिल्लाका सबै वडामा अधिवेशन सम्पन्न भइसकेको छ भने १० जिल्लामा आंशिक रूपमा वडा अधिवेशन सम्पन्न भएको छ।

भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने वडा अधिवेशन हुन बाँकी रहेको छ। यस्तै, सिराहामा देखिएको विवादका कारण वडा अधिवेशन सुरु हुन सकेको छैन।

बाढी प्रभावित जिल्लामा वडा अधिवेशन सम्पन्न गर्न आगामी १२ असोजसम्मको समय दिइएको छ। रसुवाको हकमा भने अधिवेशनको नयाँ मिति अझै तय भइसकेको छैन।

वडा अधिवेशनबाट वडा कार्यसमिति चयन हुनुका साथै क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्था छ। क्षेत्रीय प्रतिनिधिमार्फत नै पछि महाधिवेशन प्रतिनिधि चयन हुन्छन्। कांग्रेसको केन्द्रीय नेतृत्व चयन प्रक्रियामा महाधिवेशन प्रतिनिधिको भूमिका महत्वपूर्ण रहने भएकाले वडा अधिवेशनलाई संगठनात्मक रूपमा महत्वपूर्ण चरणका रूपमा लिइन्छ।

वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बन्न नेपाली कांग्रेसको क्रियाशील सदस्यता अनिवार्य गरिएको छ। कांग्रेसका अनुसार हाल पार्टीमा करिब ८ लाख ७० हजार क्रियाशील सदस्य रहेका छन्।

महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्न भने क्षेत्रीय प्रतिनिधि हुनुपर्ने व्यवस्था छ। पार्टीको केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिन महाधिवेशन प्रतिनिधि बन्नैपर्ने भएकाले वडा तहबाट सुरु हुने अधिवेशनले कांग्रेसको आगामी नेतृत्व चयन प्रक्रियाको आधार तयार गर्नेछ।

Facebook Comments Box
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारका लागि महासंघ आन्दोलनमा, मंसिर ९ गते देशव्यापी प्रदर्शन गर्ने
१ दिन अगाडि

1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको…

TOP
15 Shares