अरूको लाइसेन्समा पटक–पटक सवारी चलाउँथे अर्जुन, ट्राफिक विवादपछि आफैंलाई आगो लगाउँदा मृत्यु

काठमाडौं । सोमबार ट्राफिक प्रहरीसँग विवाद भएपछि यात्रुलाई गाडीबाट ओरालेर आफैंलाई आगो लगाएका व्यक्तिले पटक–पटक अरूको नाममा जारी भएको सवारी चालक अनुमति पत्र प्रयोग गर्ने गरेको खुलेको छ।
घटनापछि प्रहरीले काभ्रेको तिमालका दावा लामाको नाममा जारी भएको सवारी चालक अनुमति पत्र फेला पारेको थियो। तर अनुसन्धानका क्रममा उक्त लाइसेन्स प्रयोग गर्ने व्यक्ति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरी निवासी अर्जुन दोङ तामाङ रहेको खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेले जानकारी दिए।
एसएसपी घिमिरेका अनुसार तामाङ यसअघि पनि विभिन्न घटनामा अरू व्यक्तिको नाममा जारी भएको लाइसेन्स प्रयोग गर्ने गरेको पाइएको छ। २०८२ साल कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा समेत उनी संलग्न रहेको प्रहरीले जनाएको छ। उक्त घटनापछि उनी फरार रहँदै आएका थिए।
‘त्यसबेला उनले सुनिल तामाङको नाममा जारी भएको सवारी चालक अनुमति पत्र प्रयोग गरेका थिए,’ एसएसपी घिमिरेले भने, ‘करिब तीन महिनाअघि मुलपानी क्षेत्रमा पनि उनले ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको पाइएको छ। त्यसबेला उनले दावा तामाङको नाममा रहेको लाइसेन्स प्रयोग गरेका थिए।’
सोमबारको घटनापछि प्रहरीले गाडीको ढोका फुटाएर तामाङलाई उद्धार गरेको थियो। दमकलको सहयोगमा गाडीमा लागेको आगो नियन्त्रणमा लिएपछि उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो।
अस्पतालका अनुसार उपचारका लागि पुर्‍याउँदा उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो। गम्भीर अवस्थामा उपचाररत तामाङको सोमबार साँझ करिब ७ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Facebook Comments Box
न्यायमा अवरोध : राज्यशक्तिको दम्भ कि सर्वसत्तावादी मानसिकता?
२ दिन अगाडि

1.8kViews 75 Shares Share on Facebook Share on Twitter नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई नेपाल प्रहरीको प्रहरी…

TOP
15 Shares