बंगालको खाडीको प्रणाली थप शक्तिशाली बन्दै, देशभर भारी वर्षाको सम्भावना

काठमाडौँ । बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले नेपालमा वर्षा झनै बढ्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार बंगालको खाडीको पश्चिम–मध्य तथा आसपासको उत्तर–पश्चिमी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्र हाल गहिरो न्यून चापीय क्षेत्रका रूपमा विकसित भएको छ। उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको छ।

यसको प्रभावले हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश भूभागमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै, मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका धेरै स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ।

यसैगरी मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश भूभागमा बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने साधारणतया बदली रहनेछ।

रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Facebook Comments Box
TOP
15 Shares