
बंगालको खाडीको न्यूनचापीय प्रणाली जमिनमा प्रवेश, आज र भोलि भारी वर्षाको सम्भावना

काठमाडौं । बंगालको खाडीमा विकसित भएको ठूलो वर्षा गराउने न्यूनचापीय प्रणाली भारतको विशाखापट्टनम आसपासबाट जमिनको सतहमा प्रवेश गरेको छ। यसको प्रभाव नेपालमा समेत देखिन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् डेबिट ढकालका अनुसार उत्तरी अन्दमान क्षेत्रमा विकसित न्यूनचापीय प्रणाली बंगालको खाडीमा गहिरो न्यूनचापीय क्षेत्र (डिप डिप्रेसन) मा परिणत भएको थियो। उक्त प्रणाली अहिले भारतीय भूभागमा प्रवेश गरिसकेको देखिएको उनले जानकारी दिए।
उनका अनुसार प्रणाली नेपालमा सिधै प्रवेश गर्ने होइन। भारतीय भूभागमा जमिनको सतहमा प्रवेश गरेको उक्त प्रणालीकै प्रभाव नेपालमा पर्ने हो। अहिले डिप डिप्रेसनकै रूपमा रहेको प्रणाली थप शक्तिशाली बन्ने सम्भावना नरहेको र क्रमशः कमजोर हुँदै डिप्रेसनमा परिणत हुने देखिएको मौसमविद् ढकालले बताए।
प्रणालीको प्रभावसँगै पछिल्लो १२ घण्टामा नेपालका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। विशेषगरी लुम्बिनी प्रदेश आसपासमा भारीदेखि धेरै भारी वर्षा भएको छ भने कोशी र गण्डकी प्रदेशका केही स्थानमा पनि भारी वर्षा भएको महाशाखाले जनाएको छ।
महाशाखाको अद्यावधिक विवरणअनुसार पछिल्लो १२ घण्टामा कपिलवस्तुको भगवानपुरमा १२३ मिलिमिटर वर्षा मापन भएको छ। मैनारमा ११७.८ मिलिमिटर, अर्घाखाँचीको सिमलपानीमा ९१.४ मिलिमिटर तथा पाल्पाको बल्ड्याङगढीमा १३१ मिलिमिटर वर्षा मापन भएको छ। तनहुँ, कास्की, सिन्धुपाल्चोक, खोटाङ र संखुवासभालगायतका स्थानमा पनि भारी वर्षा भएको छ।
मौसमविद् ढकालका अनुसार आज र भोलि वर्षाको गतिविधि अझै बढ्ने सम्भावना छ। आज कोशीदेखि लुम्बिनीसम्मका क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने तथा भोलि यसको प्रभाव कर्णाली प्रदेशसम्म विस्तार हुन सक्ने उनले बताए।
त्यसपछिका दिनमा भने विशेषगरी लुम्बिनी र कर्णाली प्रदेश आसपास वर्षा बढी केन्द्रित हुने सम्भावना रहेको छ।
केही मौसम मोडलहरूले अत्यन्तै भीषण वर्षाको संकेत देखाए पनि हालको मौसमी अवस्था विश्लेषण गर्दा त्यस्तो चरम वर्षा हुने सम्भावना नरहेको मौसमविद् ढकालले स्पष्ट पारेका छन्। यद्यपि वर्षाको गतिविधि बढ्ने भएकाले सर्वसाधारणले सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ।
लगातारको मनसुनी वर्षाका कारण जमिन यसअघि नै भिजेको अवस्थामा रहेकाले थप वर्षाले कमजोर भूभागमा पहिरो तथा बाढीको जोखिम बढाउन सक्ने महाशाखाले जनाएको छ। सहरी तथा तराईका क्षेत्रमा डुबानको जोखिमसमेत रहन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
मौसमविद् ढकालका अनुसार पहिल्यै वर्षाका कारण भिजिसकेका तथा कमजोर भूभागमा विशेष सतर्कता आवश्यक छ। त्यस्ता स्थानमा पहिरो जाने, नदी तथा खोलामा बहाव बढ्ने र बाढी आउन सक्ने जोखिम रहेकाले अनावश्यक यात्रा नगर्न तथा जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउनुपर्ने देखिएको छ।
आज पनि देशका अधिकांश भूभागमा मौसम बदली रहने र वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेश आसपास बाक्लो बादल रहने अनुमान गरिएको छ।
काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना रहेको मौसमविद् ढकालले बताए। उपत्यकाका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ भने एक–दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने अनुमान गरिएको छ।
समाज
थप सामाग्री-
बंगालको खाडीको न्यूनचापीय प्रणाली जमिनमा प्रवेश, आज र भोलि भारी वर्षाको सम्भावना
-
आज असोज ८ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
बंगालको खाडीको प्रणाली थप शक्तिशाली बन्दै, देशभर भारी वर्षाको सम्भावना
-
वसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु
-
खनाल–जयशंकर भेट : नेपाल–भारत सम्बन्ध र द्विपक्षीय सहकार्यमा जोड
आज असोज ०७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
2.8kViews 15 Shares Share on Facebook Share on Twitter मेष– आज रोकिएका तथा अधुरा कामलाई अघि बढाउने अनुकूल अवसर मिल्नेछ…





