दाङमा भारी वर्षाको चेतावनीसँगै सुरक्षा सतर्कता तीव्र, राप्ती–बबई किनारमा माइकिङ

दाङ । असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमानपछि दाङमा बाढी, डुबान र पहिरोको जोखिम न्यूनीकरणका लागि सुरक्षा निकाय तथा प्रशासनले पूर्वतयारी तीव्र पारेका छन्।
सम्भावित विपद्लाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर गण हेडक्वाटर भालुबाङले राप्ती नदीको तटीय तथा जोखिमयुक्त क्षेत्रमा माइकिङ गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। सशस्त्र प्रहरीका एसपी यदु कार्कीका अनुसार डीएसपी बाबुराम थापाको कमान्डमा परिचालित टोलीले नदी किनार तथा सम्भावित जोखिम क्षेत्र पुगेर स्थानीयवासीलाई सचेत गराएको हो।
वर्षाका कारण नदी तथा खोलाको पानीको सतह एक्कासि बढ्नसक्ने भएकाले माछा मार्ने, दाउरा तान्ने, गाईवस्तु चराउनेलगायतका कामका लागि नदी तथा खोला किनारमा नजान सुरक्षा निकायले आग्रह गरेको छ।
त्यस्तै, नदीको बहाव बढ्दै गएको देखिएमा, पानी अस्वाभाविक रूपमा धमिलो भएमा, ढुंगा तथा रूख बगाउँदै आएको देखिएमा वा असामान्य आवाज सुनिएमा तत्काल सुरक्षित तथा अग्लो स्थानमा जान आग्रह गरिएको छ। जोखिमको अवस्थामा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गर्ने सूचनालाई प्राथमिकताका साथ पालना गर्न पनि अनुरोध गरिएको छ।
लुम्बिनी प्रदेश सरकारले समेत प्रदेशका १२ वटै जिल्ला र १०९ स्थानीय तहलाई सम्भावित विपद्प्रति उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिम बढ्नसक्ने भएकाले जोखिमयुक्त क्षेत्रको पहिचान, उद्धार तथा राहतका लागि आवश्यक तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई भनिएको छ।
प्रशासनले अत्यावश्यकबाहेक रातिको समयमा यात्रा नगर्न, नदी तथा खोला आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउन र जोखिममा रहेका नागरिकको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ।
मौसममा आएको परिवर्तनसँगै वर्षाको अवस्था जुनसुकै बेला तीव्र हुनसक्ने भएकाले पूर्वसूचना तथा चेतावनीलाई बेवास्ता नगरी समयमै सुरक्षित स्थानमा सर्न प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ।

Facebook Comments Box
TOP
15 Shares