आज घटस्थापना, बडादशैं सुरु; बिहान ११:४७ बजे उत्तम साइत

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै आजदेखि नवरात्र आरम्भ भएको हो। घटस्थापनाका लागि बिहान ११ बजेर ४७ मिनेटको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार आज दिनभर चित्रा नक्षत्र पर्ने भएकाले शास्त्रीय मान्यताअनुसार मध्याह्नकालको अभिजित् मुहूर्तमा घटस्थापनाको साइत निर्धारण गरिएको हो। सूर्योदयकालमा प्रतिपदा परेको दिन घटस्थापना गर्नुपर्ने धार्मिक मान्यताअनुसार नै आजको दिनलाई घटस्थापनाका लागि उपयुक्त ठहर गरिएको उनले बताए।

सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्नुपर्ने भन्दै फैलाइएको चर्चामा शास्त्रीय आधार नरहेको पनि अध्यक्ष भट्टराईले स्पष्ट पारेका छन्।

बडादशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिअनुसार दियो, कलश र गणेश स्थापना गरी दुर्गा भवानीको पूजा आराधना गरिन्छ। घरको पूजा कोठा वा दशैंघरलाई शुद्ध पारेर पवित्र स्थलबाट ल्याइएको बालुवा वा माटोमा जौ छरी विधिपूर्वक जमरा राख्ने परम्परा छ।

जौको अंकुरलाई दुर्गा भवानीको प्रिय वस्तु मानिने भएकाले नवरात्रभरि उमारिएको पहेँलो जमरा विजयादशमीका दिन टीका र प्रसादसँगै ग्रहण गर्ने चलन छ। जमरालाई समृद्धि, शुभता र विजयको प्रतीकका रूपमा लिइन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतमका अनुसार शास्त्रीय विधिअनुसार जमरा राख्दा जौकै प्रयोग गर्नुपर्छ। कतिपय स्थानमा गहुँ र मकैसमेत रोपेर जमरा बनाउने चलन भए पनि शास्त्रीय परम्परामा जौको जमरालाई विशेष महत्त्व दिइएको उनले बताएका छन्।

घटस्थापनाका दिन विधिपूर्वक स्थापना गरिएको पूर्ण कलशमा शक्तिस्वरूपा दुर्गा भवानीको आह्वान गरी पूजा आराधना गरिन्छ। उक्त कलशको जललाई पवित्र मानी विजयादशमीका दिन अभिषेक तथा धार्मिक कार्यमा प्रयोग गर्ने परम्परा छ।

घटस्थापनादेखि विजयादशमीसम्मको नौ दिनलाई नवरात्र भनिन्छ। यस अवधिमा दुर्गा भवानीका नौ स्वरूपको क्रमशः पूजा गरिन्छ। नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ।

बडादशैंको सातौँ दिन फूलपाती भित्र्याइन्छ। महाअष्टमी र महानवमीका दिन दशैंघर, कोत तथा विभिन्न शक्तिपीठमा विशेष पूजा आराधना गरिन्छ। परम्पराअनुसार बलि दिने स्थानमा बलिसहित पूजाआजा पनि गरिन्छ। नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ तथा देवी स्तोत्र र स्तुतिहरू वाचन गर्ने चलन छ।

यस अवसरमा काठमाडौंका नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी तथा नालास्थित भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका देवी मन्दिर र शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्छ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने बडादशैं नेपाली समाजको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व हो। यस पर्वले अन्यायमाथि न्याय, अधर्ममाथि धर्म र नकारात्मकतामाथि सकारात्मकताको विजयको सन्देश दिने विश्वास गरिन्छ।

यस वर्षको विजयादशमी अर्थात् टीका कात्तिक ४ गते परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेट निर्धारण गरेको जनाएको छ। घटस्थापनासँगै सुरु भएको दशैंको धार्मिक उल्लास अब घरघरमा जमरा राख्ने, दुर्गा भवानीको आराधना गर्ने र आफन्तसँग भेटघाटको तयारी गर्ने क्रमसँगै बढ्नेछ।

Facebook Comments Box
कान्तिलोकपथको पहिरो हटाउन दुई साताभन्दा बढी ढिलाइ : सांसद बुद्धरत्न महर्जनमाथि स्थानीयको आरोप
१ दिन अगाडि

2.0kViews 15 Shares Share on Facebook Share on Twitter ललितपुर । कान्तिलोकपथअन्तर्गत ललितपुरको लेले–टीकाभैरव सडकखण्डमा असोज ६ गते गएको पहिरो…

TOP
15 Shares