राजमार्गका होटलमा बासी खाना खुवाए र चर्को मूल्य लिए कडा कारबाही हुने

काठमाडौँ । सार्वजनिक यात्रुवाहक सवारीमा यात्रा गर्ने यात्रुलाई बासी, अस्वस्थ तथा न्यून गुणस्तरको खाना खुवाउने र चर्को मूल्य असुल्ने होटल तथा रेस्टुरेन्टमाथि कडा कारबाही हुने भएको छ।

राजमार्गका होटल तथा रेस्टुरेन्टमा सरसफाइको अभाव, बासी र झिँगा भन्किएको खाना बिक्री तथा वस्तु र सेवाको चर्को मूल्य असुली भइरहेको भन्दै व्यापक जनगुनासो आएपछि यातायात व्यवस्था विभागले विशेष निर्देशन जारी गरेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विभागले सार्वजनिक सवारीका चालक, होटल व्यवसायी र यात्रुलाई लक्षित गरी जारी गरेको निर्देशनअनुसार यात्रुलाई खाना तथा खाजा खुवाउन सवारी रोक्दा चालकले सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छता स्टिकर टाँसिएका सफा, स्वच्छ र गुणस्तरीय होटल तथा रेस्टुरेन्ट छनोट गर्नुपर्नेछ।

न्यून गुणस्तरको खाना खाँदा यात्रु बिरामी परेको गुनासोसमेत आएपछि सम्बन्धित निकायले राजमार्गका होटल तथा रेस्टुरेन्टको निगरानी बढाएको यातायात व्यवस्था विभागले जनाएको छ।

विभागका निर्देशक मणिराम भुसालका अनुसार यात्रुलाई अस्वस्थ खाना खुवाएको वा अनुचित रूपमा चर्को मूल्य असुलेको पाइएमा सम्बन्धित होटल सञ्चालकसँगै त्यस्तो होटलमा खाना खान यात्रुवाहक सवारी रोकेको चालकलाई समेत प्रचलित कानुनअनुसार कारबाही गरिनेछ।

यात्राको क्रममा यात्रुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै विभागले होटल व्यवसायीलाई खाद्य स्वच्छता र उचित मूल्य कायम गर्न तथा सवारी चालकलाई यात्रुको हितलाई ध्यानमा राखेर सुरक्षित र स्वच्छ स्थानमा मात्रै सवारी रोक्न निर्देशन दिएको छ।

Facebook Comments Box
TOP
15 Shares