दसैँमा मुस्ताङ हुँदै ३५ करोडका भेडा–च्याङ्ग्रा निकासी, १३ हजारभन्दा बढी बिक्री

मुस्ताङ । यस वर्षको दसैँलाई लक्षित गरी मुस्ताङ हुँदै ३५ करोड रुपैयाँ मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएका छन्। कृषि तथा पशु विकास कार्यालयका अनुसार दसैँको अवसरमा मुस्ताङसहित कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट १३ हजार २७९ भेडा तथा च्याङ्ग्रा बिक्रीका लागि बेसीतर्फ झारिएका हुन्।

कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार मुस्ताङ मार्ग हुँदै ११ हजार १६४ च्याङ्ग्रा र दुई हजार ११५ भेडा निकासी भएका छन्। तीमध्ये मुस्ताङबाट मात्रै २२ करोड रुपैयाँभन्दा बढी र कर्णाली प्रदेशका डोल्पा, मुगु तथा जुम्लाबाट करिब १३ करोड रुपैयाँ मूल्य बराबरका भेडा, च्याङ्ग्रा तथा च्यालु (माउ) निकासी भएका छन्।

कार्यालयका अनुसार मुस्ताङबाट सात हजार ९६४ च्याङ्ग्रा र एक हजार २०४ भेडा निकासी भएका छन्। मुस्ताङका किसानले पालेका खोरपाला तथा तिब्बतबाट कोरला नाका हुँदै भित्र्याइएका ४०० भन्दा बढी भेडा–च्याङ्ग्रासमेत स्थानीय व्यापारीले पोखरा, काठमाडौंलगायतका बजारमा बिक्रीका लागि पठाएका छन्।

त्यसैगरी, डोल्पाबाट दुई हजार ६८० च्याङ्ग्रा र ८७१ भेडा, जुम्लाबाट ३०० च्याङ्ग्रा तथा मुगुबाट ३२० च्याङ्ग्रा र ४० भेडा निकासी भएका छन्।

कार्यालयका अनुसार यस वर्ष च्याङ्ग्राको औसत मूल्य प्रतिगोटा ३३ हजार रुपैयाँ, भेडाको २२ हजार रुपैयाँ र च्यालु (माउ)को १० हजार रुपैयाँ कायम गरी बिक्री गरिएको हो।

दसैँमा मासुका लागि भेडा–च्याङ्ग्राको माग बढ्ने भएकाले हिमाली जिल्लाका किसान तथा व्यापारीका लागि यो समय आम्दानीको महत्त्वपूर्ण अवसरका रूपमा रहेको छ। मुस्ताङ हुँदै विभिन्न जिल्लाबाट भेडा–च्याङ्ग्रा निकासी हुँदा स्थानीय पशुपालक किसान र व्यापारमा समेत आर्थिक गतिविधि बढेको छ।

Facebook Comments Box
आज फूलपाती भित्र्याइँदै, नवदुर्गाको सातौँ स्वरूप कालरात्रिको पूजा गरिँदै
२ दिन अगाडि

2.0kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज फूलपाती भित्र्याइँदैछ।…

TOP
15 Shares