
एसपी भट्टराईको इमानदार छविमाथि मातहतकै अधिकृतको चुनौती, पोखरियामा घुमुवा परिचालन गरी तस्करीको लाइन र असुली चलाएको आरोप

वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्वमा रहेका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईमाथि अहिलेसम्म तस्करीको लाइन सञ्चालन, घुमुवा परिचालनका नाममा व्यापारी तथा तस्करबाट रकम असुली वा आर्थिक चलखेलमा प्रत्यक्ष संलग्न रहेको ठोस आरोप सार्वजनिक भएको छैन। व्यक्तिगत रूपमा इमानदार अधिकृतको छवि बनाएका भट्टराईको नेतृत्वमा रहेको पर्सामा भने तस्करी नियन्त्रण हुन नसकेको र मातहतका केही प्रहरी कर्मचारीको गतिविधिले प्रहरी संगठनकै साखमाथि प्रश्न उठाएको छ। विशेषगरी इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक भानुभक्त अर्यालले घुमुवा प्रहरी परिचालन गरी तस्करीको लाइन सञ्चालन गर्न सघाएको, तस्कर तथा व्यापारीबाट रकम असुली गराएको र अवैध कारोबारलाई संरक्षण दिएको गम्भीर आरोप सार्वजनिक भएको छ।
स्रोतका अनुसार प्रहरी निरीक्षक अर्यालले आफ्नो कार्यक्षेत्रमा घुमुवा प्रहरी कृष्णप्रसाद यादवलाई परिचालन गर्दै तस्करी नियन्त्रणका नाममा सूचना संकलनभन्दा पनि अवैध कारोबारसँग सम्बन्धित गतिविधिमा संलग्न गराएको आरोप छ। घुमुवा यादवले तस्कर समूहसँग आर्थिक लेनदेन मिलाउने, रकम संकलन गर्ने र सामान ओसारपसारका लागि अनुकूल वातावरण बनाउने गरेको स्रोतको दाबी छ। प्रहरीको ड्युटी विवरणमा यादवको नाम फैसला कार्यान्वयनका लागि फरार अपराधीको खोजी तथा पक्राउ, क्यूआरटी र टाइगर टोलीसँग सम्बन्धित जिम्मेवारीमा उल्लेख भए पनि उनी व्यवहारमा असुली तथा तस्करीको लाइन व्यवस्थापनमा केन्द्रित रहेको आरोप लगाइएको छ।
पर्साको पश्चिमी ग्रामीण क्षेत्रमा पर्ने धोबियाटोला–सबैठवा सीमा नाका पछिल्लो समय भन्सार छलीका सामान ओसारपसार गर्ने मार्गका रूपमा प्रयोग भइरहेको स्थानीय स्रोतको दाबी छ। भारतीय बजार सिक्टाबाट कठियामठिया हुँदै धोबियाटोला–सबैठवा, बड्का गाउँ, सबैठवा र कालिकामाई क्षेत्र हुँदै पोखरिया बजारसम्म कपडा, जुताचप्पल तथा कस्मेटिक सामग्री भन्सार छली गरेर भित्र्याइने गरेको आरोप छ।
स्रोतका अनुसार रातिको समयमा मोटरसाइकल प्रयोग गरी नियमित रूपमा सामान ओसारपसार हुने गरेको छ। पकहाँ मैनपुर गाउँपालिका–५ सबैठवाका बृजेश साह तेली, सन्दीप गोड र विकास गुप्ताको समूह यस कारोबारमा संलग्न रहेको आरोप छ। उक्त समूहमा बृजेश साह तेलीले मुख्य भूमिका निर्वाह गर्दै प्रहरीसँग समन्वय र तस्करीको लाइन व्यवस्थापन गर्ने गरेको स्रोतको दाबी छ।
तस्करीको सामान सीमावर्ती क्षेत्रबाट पोखरिया बजारसम्म पुग्नुले प्रहरी निगरानीको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ। इलाका प्रहरी कार्यालय पोखरियाबाट करिब ६ सय मिटर पूर्व रहेको पोखरिया बजारका केही कपडा, जुताचप्पल तथा कस्मेटिक पसलमा भन्सार प्रक्रिया पूरा नगरी ल्याइएका सामान भण्डारण तथा बिक्री हुने गरेको स्थानीय स्रोतको दाबी छ। स्रोतका अनुसार बजारका विभिन्न पसलबाट पसलको कारोबार तथा प्रकृतिअनुसार मासिक रकम तोकेर घुमुवा यादवले असुली गर्ने गरेको आरोपसमेत छ।
आउँदै गरेको विवाहको लगनलाई लक्षित गरी केही व्यापारीले भन्सार छलीका सामान भण्डारण गरिरहेको दाबी पनि गरिएको छ। बजारमा बिक्री भइरहेका सामानको खरिद बिल, भन्सार प्रज्ञापनपत्र, राजस्व भुक्तानी र मौज्दात विवरण जाँच गर्ने हो भने कारोबारको वास्तविकता बाहिर आउन सक्ने स्थानीयको भनाइ छ। तर प्रहरी कार्यालयकै नजिक रहेको बजारमा यस्तो कारोबार भइरहेको आरोप उठ्दा पनि प्रभावकारी अनुगमन नहुनुले सम्बन्धित प्रहरी अधिकारीहरूको भूमिकामाथि प्रश्न खडा गरेको छ।
स्रोतका अनुसार घुमुवा यादवले आफू प्रत्यक्ष रूपमा अगाडि नदेखिने गरी तस्कर समूहका व्यक्तिमार्फत रकम संकलन गराउने र पछि कार्यालयमा बोलाएर रकम बुझ्ने गरेको आरोप छ। केही साताअघि उनीमाथि असुली तथा तस्करीको लाइन व्यवस्थापनसम्बन्धी आरोप सार्वजनिक भएपछि उनी घरबिदामा बसेको र सोही अवधिमा उनले लाइन दिएको भनिएको समूहको सामान प्रहरी टोलीले नियन्त्रणमा लिएपछि विवाद उत्पन्न भएको स्रोतको दाबी छ। सामान छुटाउने वा रकम फिर्ता गर्ने विषयमा समेत दबाब सिर्जना भएको भनिए पनि यी घटनाको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
त्यस्तै, छठ पर्वभन्दा दुई दिनअघि सुरक्षा बेस पोखरियाका सशस्त्र प्रहरी नायब उपरीक्षकले एक कपडा पसलको सिँढीबाट तस्करीको आशंकामा कपडा नियन्त्रणमा लिएको बताइएको छ। तर उक्त घटनापछि सामानको स्रोत, भन्सार कागजात तथा सम्भावित संलग्न व्यक्तिबारे विस्तृत अनुसन्धान र कारबाही अघि बढेको सार्वजनिक जानकारी नआउनुले पनि प्रश्न उठाएको छ।
यस प्रकरणमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक भानुभक्त अर्यालसँगै प्रहरी चौकी सबैठवाका इन्चार्ज प्रहरी सहायक निरीक्षक पैगम्बर अंसारी र इलाका प्रहरी कार्यालय कालिकामाईका इन्चार्ज प्रहरी सहायक निरीक्षक नयन सिंह कार्कीको भूमिकामाथि समेत स्रोतले प्रश्न उठाएको छ। उनीहरूको कार्यक्षेत्रमा तस्करीको लाइन सञ्चालन भइरहेको र त्यसलाई नियन्त्रण गर्नुको सट्टा सहज बनाइएको आरोप छ। त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म लहावरथकरीका गुल्मपति प्रहरी नायब उपरीक्षक प्रदीप बस्नेत तथा सुरक्षा बेस पोखरियाको निगरानी र कमान्ड प्रणालीबारे समेत छानबिन हुनुपर्ने माग उठेको छ।
प्रहरी निरीक्षक अर्यालमाथि घुमुवा परिचालन गरी तस्करीलाई संरक्षण दिएको आरोप लागिरहँदा एसपी भट्टराईको कमान्ड क्षमतामाथि पनि प्रश्न उठेको छ। एसपी स्वयं आर्थिक चलखेलमा संलग्न नरहेको अवस्था भए पनि मातहतका कर्मचारीले आफ्नो जिम्मेवारी र अधिकार दुरुपयोग गरी अवैध गतिविधि सञ्चालन गरेको पाइए त्यसलाई नियन्त्रण गर्ने दायित्व नेतृत्वकै हुन्छ। प्रहरी नेतृत्वको इमानदारिता व्यक्तिगत आचरणमा मात्र होइन, मातहतको संगठनलाई अनुशासित र जवाफदेही बनाउने क्षमतामा समेत निर्भर रहन्छ।
पर्सामा घुमुवा प्रहरीको परिचालन र सम्भावित असुलीसम्बन्धी विवाद यो पहिलो घटना भने होइन। यसअघि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा कार्यरत प्रहरी निरीक्षक समुन्नत अधिकारी, प्रहरी हवल्दार दीपक राउत र प्रहरी जवान पप्पु पण्डितमाथि लागुऔषध मुद्दाका फरार अभियुक्त बाबुछोरालाई पक्राउ गरी १० हजार रुपैयाँ लिएर छाडेको आरोप लागेको थियो। गुनासो प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साले प्रारम्भिक अनुसन्धान गरेको र सम्भावित संलग्नता देखिएपछि तीनै जनालाई कार्यक्षेत्रबाट फिर्ता बोलाएर जिल्ला प्रहरी कार्यालयमा झिकाएको थियो। उक्त घटनापछि त्यहाँ अर्को प्रहरी इन्चार्ज खटाइएको थियो।
यसअघि सोही इलाका प्रहरी कार्यालयमा कार्यरत घुमुवा प्रहरी पप्पु पण्डितलाई एक लाख रुपैयाँसहित जिल्ला प्रहरी कार्यालयमा तानिएको समाचारसमेत सार्वजनिक भएको थियो। त्यस्तै, प्रहरी जवान श्रीलाल मण्डल र सुशील मण्डलमाथि पनि गैरकानुनी रकम असुलीको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालयमा झिकाइएको स्रोतको भनाइ छ। यी घटनाले पर्सामा घुमुवा प्रहरी परिचालन, उनीहरूको कार्यसम्पादन र आर्थिक गतिविधिको निगरानीबारे संस्थागत सुधार आवश्यक रहेको देखाउँछन्।
घुमुवा प्रहरीको मूल जिम्मेवारी अपराध नियन्त्रण, शान्तिसुरक्षा, फरार अभियुक्तको खोजी तथा अवैध गतिविधिबारे सूचना संकलन गर्नु हो। तर यही जिम्मेवारीको आवरणमा व्यापारी, तस्कर र अन्य व्यवसायीसँग रकम असुली हुने गरेको आरोप सत्य साबित भए त्यसले प्रहरी संगठनको विश्वसनीयतामाथि गम्भीर आघात पुर्याउनेछ। सूचना संकलनका लागि खटाइएका कर्मचारी नै अवैध कारोबारको सहजकर्ता बनेको अवस्था भए त्यसको जवाफदेहिता परिचालन गर्ने अधिकारीसम्म पुग्नुपर्छ।
अब जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी निरीक्षक अर्याल र घुमुवा यादवको परिचालनसम्बन्धी अभिलेख, ड्युटी विवरण, उनीहरूको कार्यक्षेत्रमा भएका बरामदगी, तस्करी नियन्त्रणसम्बन्धी कारबाही तथा उजुरीहरूको निष्पक्ष समीक्षा गर्नुपर्ने देखिन्छ। त्यसैगरी धोबियाटोला–सबैठवा नाकाबाट हुने भनिएको तस्करीको मार्ग, ढुवानीमा प्रयोग हुने मोटरसाइकल, सामान भण्डारण गर्ने स्थान तथा पोखरिया बजारका शंकास्पद पसल र गोदामको समेत संयुक्त अनुगमन हुन आवश्यक छ।
एसपी पवनकुमार भट्टराईको व्यक्तिगत इमानदार छविलाई मातहतका कर्मचारीको गतिविधिले ओझेलमा पार्न नदिन पनि यो विषयलाई गम्भीर रूपमा लिनुपर्ने देखिन्छ। प्रहरी निरीक्षक अर्याल र घुमुवा यादवमाथि लागेका आरोपको सत्यता निष्पक्ष अनुसन्धानबाट स्थापित हुनुपर्छ। आरोप पुष्टि भए पद र पहुँचको प्रभावबिना कारबाही हुनुपर्छ ।
पर्सामा प्रहरीको नाममा तस्करीको लाइन सञ्चालन र असुली भइरहेको हो भने त्यसको छानबिन जिल्लास्तरमा मात्र सीमित राख्नु पर्याप्त हुँदैन। प्रहरी प्रधान कार्यालय तथा नयाँ प्रहरी महानिरीक्षकले समेत यस विषयलाई गम्भीरतापूर्वक लिएर आवश्यक छानबिन गराउनुपर्ने देखिन्छ। सीमा नाकामा तस्करी रोक्ने जिम्मेवारी पाएको प्रहरी संयन्त्रकै केही कर्मचारीमाथि संरक्षण र असुलीको आरोप लाग्नु सामान्य विषय होइन। अब प्रहरी संगठनको साख जोगाउने हो भने आरोपितलाई संरक्षण होइन, निष्पक्ष छानबिन र प्रमाणका आधारमा जवाफदेहिता सुनिश्चित गर्न आवश्यक छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आज मंसिर ५ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
-
न्यायाधीशका पीएसओ वरिष्ठ प्रहरी हवल्दार ढकालले आफैँलाई गोली हानेर गरे आत्महत्या
-
दुईतिहाइको दम्भमा न्यायालयमाथि दबाब, के सरकार संविधानभन्दा माथि छ?
-
सर्वोच्चको म्याद बुझ्न प्रहरी प्रधानकार्यालयको अस्वीकार, आईजीपी सचिवालयले देखायो भाषागत त्रुटि
-
न्यायमा अवरोध : राज्यशक्तिको दम्भ कि सर्वसत्तावादी मानसिकता?
आज हरिबोधनी एकादशी : तुलसी विवाहसँगै चतुर्मास समाप्त, शुभकार्यको ढोका खुल्दै
१ दिन अगाडि
1.7kViews 30 Shares Share on Facebook Share on Twitter काठमाडौं । आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी। हिन्दू धर्मावलम्बीले…





