मुद्दाको फाइलदेखि अनुसन्धान प्रक्रियासम्म बिचौलियाको प्रभाव रहेको स्थानीयको आरोप, प्रहरी नेतृत्वको भूमिकामाथि पनि प्रश्न

पर्सा प्रहरीको अनुसन्धानमाथि गम्भीर प्रश्नः डीएसपी मल्लको कार्यशैलीलाई लिएर आर्थिक चलखेलको आरोप

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लको कार्यशैली, मुद्दाको अनुसन्धान प्रक्रिया तथा जिम्मेवारी निर्वाह गर्ने तौरतरिकालाई लिएर गम्भीर प्रश्न उठ्न थालेका छन्। विभिन्न मुद्दाको अनुसन्धान तथा कारबाहीका क्रममा आर्थिक चलखेल हुने गरेको, पहुँच र प्रभावका आधारमा अनुसन्धान प्रभावित पारिने गरेको तथा निर्दोष व्यक्तिलाई समेत मुद्दामा जोड्ने प्रयास हुने गरेको आरोप स्थानीय नागरिकले लगाउन थालेका छन्।

जिल्लाका विभिन्न स्थानमा हुने विवाद, उजुरी तथा आपराधिक घटनाको अनुसन्धान निष्पक्ष, पारदर्शी र प्रमाणमा आधारित हुनुपर्ने भए पनि आर्थिक लेनदेन र पहुँचका आधारमा अनुसन्धान प्रक्रिया प्रभावित हुने गरेको स्थानीयको गुनासो छ। यस्ता आरोप सार्वजनिक हुन थालेपछि पर्सा प्रहरीको अनुसन्धान प्रणाली र संस्थागत विश्वसनीयतामाथि नै प्रश्न उठ्न थालेको छ।

विशेषगरी मुद्दाको अनुसन्धानका क्रममा अनावश्यक दबाब सिर्जना गर्ने, घटनासँग प्रत्यक्ष सम्बन्ध नराख्ने व्यक्तिलाई समेत आरोपित बनाउने प्रयास गर्ने तथा अनुसन्धानको निष्पक्षतामाथि शंका उत्पन्न हुने गतिविधि भइरहेको आरोप लगाइएको छ। यद्यपि यी आरोपको स्वतन्त्र पुष्टि हुन र सम्बन्धित निकायबाट छानबिन हुन बाँकी छ।

जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान (मुद्दा) शाखामा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) कृष्णराज अधिकारीको भूमिकालाई लिएर पनि प्रश्न उठाइएको छ। उनी विगत करिब एक वर्षदेखि मुद्दा शाखामा कार्यरत रहेको बताइएको छ।

स्थानीयस्तरबाट प्राप्त आरोपअनुसार मुद्दासम्बन्धी फाइल तयार पार्ने, अनुसन्धान प्रतिवेदन बनाउने, मुद्दालाई कमजोर वा बलियो बनाउने तथा अदालतमा म्यादभित्र फाइल पेस गर्ने प्रक्रियामा बिचौलियाको प्रभाव रहने गरेको दाबी गरिएको छ। केही व्यक्तिले आर्थिक लेनदेनमार्फत अनुसन्धान तथा फाइल पेस गर्ने प्रक्रियालाई प्रभावित पार्ने गरेको आरोपसमेत लगाएका छन्।

यी आरोपको गम्भीरता हेर्दा सम्बन्धित फाइल, अनुसन्धान प्रतिवेदन, म्यादभित्र अदालतमा पेस भएका कागजात र सम्भावित आर्थिक कारोबारबारे निष्पक्ष छानबिन आवश्यक देखिन्छ। आरोपमा डीएसपी मल्लसमेतको नाम जोडिएकाले उनको संलग्नता भए–नभएको विषयमा समेत प्रमाणका आधारमा अनुसन्धान हुनुपर्ने नागरिकको माग छ।

त्यस्तै, डीएसपी मल्ल प्रहरी निरीक्षक हुँदा वडा प्रहरी कार्यालय श्रीपुरको प्रमुखका रूपमा कार्यरत रहेको समयदेखि सम्पर्कमा रहेका भनिएका केही बिचौलिया अहिले जिल्ला प्रहरी कार्यालय परिसरमा पुनः सक्रिय भएको आरोप पनि लगाइएको छ। ती व्यक्तिहरूको प्रहरी कर्मचारीसँगको सम्बन्ध, मुद्दा शाखामा हुने पहुँच र अनुसन्धान प्रक्रियामा उनीहरूको सम्भावित भूमिकाबारे छानबिन हुनुपर्ने आवाज उठ्न थालेको छ।

प्रहरी संगठनको मुख्य जिम्मेवारी नागरिकलाई न्यायको अनुभूति दिलाउनु हो। तर अनुसन्धान गर्ने निकायमाथि नै आर्थिक लेनदेन, बिचौलियाको प्रभाव र निर्दोष व्यक्तिलाई फसाउने प्रयासजस्ता आरोप लाग्नु सामान्य विषय होइन। प्रमाणका आधारमा अनुसन्धान हुनुपर्ने ठाउँमा पहुँच र प्रभाव निर्णायक बन्ने हो भने त्यसको प्रत्यक्ष असर निर्दोष नागरिकको न्याय प्राप्त गर्ने अधिकारमा पर्छ।

त्यसैले प्रहरी प्रधान कार्यालय, मधेस प्रदेश प्रहरी कार्यालय र सम्बन्धित उच्च निकायले पर्सा प्रहरीको मुद्दा शाखामा भएका प्रमुख मुद्दाहरूको अनुसन्धान प्रक्रिया, फाइल तयार पार्ने र अदालतमा पेस गर्ने समयसीमा, बिचौलियाको सम्भावित संलग्नता तथा आर्थिक कारोबारसम्बन्धी आरोपको निष्पक्ष छानबिन गर्न आवश्यक छ।

डीएसपी चक्रबहादुर मल्ल र वरिष्ठ सई कृष्णराज अधिकारीमाथि उठेका आरोपबारे उनीहरूको आधिकारिक प्रतिक्रिया तथा सम्बन्धित निकायको धारणा सार्वजनिक हुनु पनि उत्तिकै आवश्यक छ।

Facebook Comments Box
न्यायमा अवरोध : राज्यशक्तिको दम्भ कि सर्वसत्तावादी मानसिकता?
१ दिन अगाडि

1.8kViews 75 Shares Share on Facebook Share on Twitter नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई नेपाल प्रहरीको प्रहरी…

TOP
15 Shares