
स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गराउने सोच नबनाउन रास्वपालाई प्रचण्डको चेतावनी

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई गत प्रतिनिधिसभा निर्वाचनमा जस्तै हावाहुरी ल्याएर स्थानीय तह र प्रदेशसभा निर्वाचन जित्ने सपना नदेख्न चेतावनी दिएका छन् ।
शनिबार भक्तपुरमा नेपाली कम्युनिस्ट पार्टी जिल्ला समितिद्वारा आयोजित राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै दाहालले संविधान र कानुनको व्यवस्थाविपरीत स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने प्रयासले देशलाई फेरि राजनीतिक दुर्घटनातर्फ धकेल्न सक्ने बताएका हुन् ।
उनले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संविधानले तोकेको कार्यकाल र समयसीमाअनुसार छुट्टाछुट्टै हुनुपर्ने स्पष्ट पारे । स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ गतेसम्म र प्रदेशसभाको कार्यकाल मङ्सिर ५ गतेसम्म रहेकाले सोही संवैधानिक व्यवस्थालाई आधार मानेर निर्वाचन गर्नुपर्ने उनको भनाइ थियो ।
निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख नेताहरूलाई बोलाएर निर्वाचनको तयारी र समयतालिकाबारे गरेको छलफलमा फरक–फरक धारणा आएको उल्लेख गर्दै दाहालले केही पक्षबाट स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने तथा प्रदेशसभाको निर्वाचन पहिले गर्ने प्रस्तावसमेत आएको बताए ।
तर, संविधान र कानुनले निर्धारण गरेको व्यवस्थाभन्दा बाहिर गएर निर्वाचन गर्न नहुने आफ्नो पार्टीको धारणा रहेको उनले स्पष्ट पारे ।
स्थानीय र प्रदेश सरकारलाई संविधानले दिएको पाँचवर्षे कार्यकाल पूरा गर्न दिनुपर्नेमा जोड दिँदै दाहालले एउटा संवैधानिक व्यवस्था मिच्ने बाटो खोलिए अन्य संवैधानिक व्यवस्थामाथि समेत प्रश्न उठ्ने चेतावनी दिए । त्यसले प्रतिगामी शक्तिहरूलाई राजनीतिक अस्थिरता सिर्जना गर्ने अवसर दिन सक्ने उनको तर्क थियो ।
निर्वाचन आयोगमा भएको छलफलमा आफूहरूले संविधान र कानुनसम्मत निर्वाचन प्रक्रियाको पक्षमा धारणा राखेको जानकारी दिँदै उनले आयोगले पनि स्थानीय तह र प्रदेशसभाको निर्वाचन छुट्टाछुट्टै गर्नु नै संविधान र कानुनअनुकूल हुने स्पष्ट धारणा राखेको बताए ।
यद्यपि, रास्वपा सभापतिले सर्वदलीय बैठकमार्फत राजनीतिक दलहरूसँग थप छलफल गरेर अन्तिम धारणा निर्वाचन आयोगलाई जानकारी गराउने प्रस्ताव गरेको दाहालले उल्लेख गरे ।
यसैबीच, दाहालले आगामी राजनीतिक प्रतिस्पर्धा भाषण र आमसभामा मात्रै सीमित नरहने भन्दै सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगलाई पार्टीले प्राथमिकतामा राख्नुपर्ने बताए ।
‘आजको राजनीतिक प्रतिस्पर्धा आमसभामा भाषण गर्नमा मात्र सीमित छैन । डिजिटल प्रविधि, सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग पनि उत्तिकै महत्त्वपूर्ण भइसकेको छ,’ उनले भने ।
एआई र सूचना प्रविधिको प्रयोगमा पछाडि पर्ने राजनीतिक शक्ति निर्वाचनदेखि राष्ट्रिय प्रतिस्पर्धासम्म कमजोर हुन सक्ने उनको विश्लेषण थियो । त्यसैले पार्टीको सूचना प्रविधिसम्बन्धी संरचना र प्रयोगलाई संस्थागत तथा व्यापक बनाउनुपर्नेमा उनले जोड दिए ।
निर्वाचनका नाममा संविधान र कानुन मिच्ने प्रयासले थप राजनीतिक संकट निम्त्याउन सक्ने भन्दै दाहालले सबै राजनीतिक दललाई जिम्मेवार र सचेत रहन आग्रह गरे । लोकतान्त्रिक व्यवस्था, संविधान र कानुनी शासनको रक्षा गर्दै निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
पर्सामा प्रहरी वरिष्ठ हवल्दारमाथि भारतीय नागरिकको समूहबाट लछारपछार गरि कुटपिट, ३२ हजार रुपैयाँ लिएर मोटरसाइकल छाडेको आरोप
-
आज मंसिर ५ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
-
न्यायाधीशका पीएसओ वरिष्ठ प्रहरी हवल्दार ढकालले आफैँलाई गोली हानेर गरे आत्महत्या
-
दुईतिहाइको दम्भमा न्यायालयमाथि दबाब, के सरकार संविधानभन्दा माथि छ?
-
सर्वोच्चको म्याद बुझ्न प्रहरी प्रधानकार्यालयको अस्वीकार, आईजीपी सचिवालयले देखायो भाषागत त्रुटि
न्यायमा अवरोध : राज्यशक्तिको दम्भ कि सर्वसत्तावादी मानसिकता?
१ दिन अगाडि
1.8kViews 75 Shares Share on Facebook Share on Twitter नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई नेपाल प्रहरीको प्रहरी…





