पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ, कोलकत्ताबाट नेपाल ल्याएर सीआईबीको जिम्मा

काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरी काठमाडौं ल्याइएको छ। भारतको कोलकत्ताबाट पक्राउ परेका अर्याललाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गराएर हवाइमार्गबाट काठमाडौं ल्याइएको हो।

स्रोतका अनुसार केहीबेरअघि काठमाडौं आइपुगेका अर्याललाई विमानस्थलबाट सिधै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लगिएको थियो। उनलाई अहिले सीआईबीको हिरासतमा राखिएको छ।

सीआईबीले अर्याललाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी गरेको छ।

मलेसिया जाने नेपाली श्रमिकमाथि बायोमेट्रिक स्वास्थ्य परीक्षणलगायतका नाममा गैरकानुनी रूपमा करिब १ अर्ब ६९ करोड रुपैयाँ असुली गरी विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा अर्यालमाथि अनुसन्धान भइरहेको छ। यही प्रकरणमा जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो।

मुख्यसचिव नियुक्त हुनुअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव रहेका अर्यालमाथि सोही अवधिमा भएको भनिएको विवादास्पद निर्णय प्रक्रियामा संलग्न रहेको आरोप छ।

अर्याल २०८१ भदौमा नेपालको मुख्यसचिव नियुक्त भएका थिए। उनी २०८२ मंसिरमा उमेर हदका कारण अनिवार्य अवकाशमा गएका थिए।

यस प्रकरणमा यसअघि तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्। उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

अर्यालको पक्राउसँगै मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको अर्बौं रुपैयाँको असुली प्रकरणमा अनुसन्धान थप उच्च तहका निर्णयकर्तासम्म पुगेको छ।

Facebook Comments Box
आईजीपी कार्कीको रिटमा आज सर्वोच्चको सुनुवाइ, के आउला फैसला ? पुनर्बहालीको बाटो खुल्ला कि सरकारको निर्णयले पाउला निरन्तरता ?
२ दिन अगाडि

2.3kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको…

TOP
15 Shares