सरकारविरुद्ध आन्दोलन चर्काउने ओली–प्रचण्डको तयारी, पूर्वमाओवादी लडाकुलाई काठमाडौं बोलाइयो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध विपक्षी दलहरूको राजनीतिक गतिविधि तीव्र भइरहेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वजनमुक्ति सेना (पीएलए) का लडाकुहरूलाई काठमाडौं उपत्यकामा केन्द्रित हुन आह्वान गरेको छ। पूर्वमाओवादी लडाकुहरूलाई राजधानीमा सम्पर्कमा आउन गरिएको आग्रहलाई सम्भावित सडक आन्दोलनको तयारीसँग जोडेर हेरिएको छ।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारविरुद्ध सडक संघर्ष चर्काउने चेतावनी दिइरहेका बेला पूर्वलडाकुहरूलाई एकै ठाउँमा संगठित हुन गरिएको आह्वानले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ।

पीएलएका पूर्वडिभिजन कमान्डर सन्तु दराईले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौं उपत्यकामा रहेका पूर्वजनमुक्ति सेनाका सदस्यहरूलाई सम्पर्कमा आउन आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘काठमाडौँ उपत्यकाभित्र रहनुहुने पूर्व पीएलएका साथीहरूले सम्पर्क गर्नुहोला।’

त्यसैगरी, नेकपाले सञ्चालन गरिरहेको दुईमहिने जागरण अभियानलाई तीव्रता दिने क्रममा पूर्वजनमुक्ति सेना र वाईसीएललाई समेत सक्रिय बनाउने तयारी भइरहेको संकेत देखिएको छ। दराईले सामाजिक सञ्जालमा ‘जुरुक्क उठ्ने भए गणतन्त्रका खम्बा पूर्वजनमुक्ति सेना र वाईसीएल। दुईमहिने कार्यक्रम तीव्र रूपमा अगाडि बढ्दै’ भन्दै लेखेका छन्।

पार्टी निकट स्रोतहरूका अनुसार नेकपा र नेकपा एमालेसहितका विपक्षी दलहरू सरकारविरुद्ध दबाबमूलक तथा निर्णायक आन्दोलनको आन्तरिक तयारीमा जुटिरहेका छन्। सम्भावित आन्दोलनमा पूर्वमाओवादी लडाकु र वाईसीएललाई परिचालन गर्ने विषयमा पनि छलफल भइरहेको स्रोतको दाबी छ।

पछिल्लो समय प्रचण्डले सार्वजनिक कार्यक्रमहरूबाटै सरकारविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आएका छन्। केही दिनअघि उनले सरकारविरुद्ध ‘जिहाद’ छेड्ने तयारी भइरहेको बताएका थिए। त्यस्तै, बालेन नेतृत्वको सरकारलाई विस्थापित गर्न पाँचदेखि सात लाख मानिस सडकमा उतारेर चारैतिरबाट घेराबन्दी गर्नुपर्ने आशयको अभिव्यक्तिसमेत दिएका थिए।

प्रचण्डका अभिव्यक्ति, विपक्षी दलहरूको बढ्दो सक्रियता र पूर्वजनमुक्ति सेनालाई गरिएको सम्पर्क आह्वानले आगामी दिनमा सरकार र विपक्षीबीचको राजनीतिक टकराव थप चर्किन सक्ने संकेत गरेको छ।

यद्यपि, पूर्वडिभिजन कमान्डर दराईले पूर्वलडाकुहरूलाई सडक आन्दोलनमा परिचालन गर्न नभई पार्टीको दुईमहिने जागरण अभियानमा सहभागी गराउने उद्देश्यले सम्पर्क गर्न आग्रह गरिएको दाबी गरेका छन्। त्यसैले पूर्वलडाकुहरूको यो सक्रियता जागरण अभियानमा मात्रै सीमित रहन्छ वा आगामी राजनीतिक आन्दोलनसँग जोडिन्छ भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुनेछ।

Facebook Comments Box
आज मंसिर ९ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि

2.2kViews 15 Shares Share on Facebook Share on Twitter मेष नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ। आर्थिक कारोबारमा फाइदा हुनेछ। पढाइमा…

TOP
30 Shares