मोरङमा ‘मेगा–क्यान २०८३’ अभियान सम्पन्न, लागुऔषध नियन्त्रणमा सामूहिक प्रतिबद्धता

मोरङ, असार १७ – लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मोरङको रतुवामाई नगरपालिकामा ‘लागुऔषध विरुद्धको महाअभियान (Mega Campaign Against Narcotics–Mega CAN), २०८३’ कार्यक्रम सम्पन्न भएको छ।
रतुवामाई नगरपालिका–७ सिजुवास्थित नगरपालिकाको नवनिर्मित भवनको सभाहलमा आयोजित उक्त कार्यक्रम रतुवामाई नगरपालिकाको सहयोग तथा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय सिजुवाको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा रतुवामाई नगरपालिकाका नगर प्रमुख नागेश्वर प्रसाद सिंह गनगाई प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए भने उपप्रमुख दमयन्ता देवी चुडाल विशिष्ट अतिथि रहेकी थिइन्। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक कबित कटवाल, जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म बरडंगाका सशस्त्र प्रहरी नायव उपरीक्षक विकास भुजेल, रतुवामाई नगरपालिकाका प्रशासकीय अधिकृत डमरुबल्लभ बराल, इलाका प्रहरी कार्यालय सिजुवाका प्रमुख प्रहरी निरीक्षक कैलाश लिम्बुलगायत स्थानीय समाजसेवी, युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले लागुऔषध नियन्त्रण केवल कानुनी कारबाहीको विषय मात्र नभई यसको रोकथाम, जनचेतना अभिवृद्धि, समयमै पहिचान तथा पुनःस्थापनाको वातावरण सिर्जना गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेकोमा जोड दिएका थिए।
नेपाल प्रहरीले अपराध नियन्त्रणसँगै समुदायमा शान्ति, सुरक्षा र सामाजिक सचेतना अभिवृद्धिलाई उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय सिजुवाले रतुवामाई नगरपालिकासँगको सहकार्यमा ‘मेगा–क्यान २०८३’ अभियान सञ्चालन गरेको जनाएको छ।
कार्यक्रमको अवसरमा सरस्वती माध्यमिक विद्यालय, इटहराका विद्यार्थीहरूले लागुऔषधविरुद्ध सचेतना फैलाउने उद्देश्यले सडक नाटक तथा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। सहभागीहरूले उक्त प्रस्तुति प्रभावकारी र सन्देशमूलक रहेको प्रतिक्रिया दिएका थिए।
लागुऔषध दुर्व्यसनविरुद्ध सामूहिक प्रयास, जनसहभागिता र निरन्तर सचेतनामार्फत मात्रै समाजलाई सुरक्षित र सभ्य बनाउन सकिने सन्देशसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

Facebook Comments Box
ठेकेदारको लापरबाहीले खोटाङमा १५ शैय्याको अस्पताल भवन निर्माण अलपत्र
१ दिन अगाडि

1.4kViews 169 Shares Share on Facebook Share on Twitter खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा निर्माणाधीन…

TOP
437 Shares