मकवानपुरमा यात्रुबाहक बस दुर्घटना, पाँच जना घाइते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार राति वीरगन्जबाट लमजुङतर्फ जाँदै गरेको ना ५ ख ५३१९ नम्बरको बसको स्टेयरिङको टाइ–रड भाँचिएपछि बस अनियन्त्रित भई सडकको दाहिने किनारमा पल्टिएको हो।

दुर्घटनाको समयमा बसमा चालकसहित १६ जना यात्रु सवार रहेका थिए। बस दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मनहरी र ट्राफिक प्रहरीको टोली घटनास्थलमा पुगेको थियो।

प्रहरी टोलीले दुर्घटनामा घाइते भएका पाँच जनाको तत्काल उद्धार गरी उपचारका लागि मनहरी अस्पताल पुर्‍याएको थियो। अस्पतालमा सामान्य उपचारपछि उनीहरूलाई थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति नभए पनि बसमा ठूलो क्षति पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Facebook Comments Box
TOP
202 Shares