अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति इराक भ्रमण छोट्याएर तेहरान फर्किए

तेहरान । पछिल्लो अमेरिकी सैन्य आक्रमणपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियन इराक भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्। इरानी सरकारी सञ्चारमाध्यम आईआरआईबीलाई उद्धृत गर्दै सीएनएनले राष्ट्रपति पेजेस्कियन तेहरान फर्किएको जनाएको छ।

पेजेस्कियन पूर्व इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा सहभागी हुन इराकको नजफ पुगेका थिए। तर, होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने व्यापारिक जहाजहरूमाथि भएको आक्रमणपछि अमेरिकाले इरानविरुद्ध श्रृङ्खलाबद्ध सैन्य कारबाही सुरु गरेसँगै उनले भ्रमण छोट्याएर स्वदेश फर्किएको जनाइएको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जाल एक्समार्फत अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालित व्यापारिक जहाजमाथिको आक्रमणको जवाफस्वरूप इरानी लक्ष्यहरूमा सैन्य कारबाही गरिएको जनाएको छ। सेन्टकमले इरानले होर्मुज जलडमरूमध्य पार गर्ने तीन वटा व्यापारिक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ।

यसैबीच, दक्षिणी इरानको सिरिक र केशम क्षेत्रमा विस्फोट भएको खबर सार्वजनिक भएको छ। अल जजिराका अनुसार सिरिक बन्दरगाह नजिकका व्यावसायिक तथा माछा मार्ने घाटहरूमा क्षेप्यास्त्र प्रहार भएपछि त्यहाँ धेरै विस्फोट भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसअघि अमेरिकाले इरानलाई कच्चा तेल तथा सम्बन्धित उत्पादनको उत्पादन, बिक्री र पारवहनका लागि दिएको अस्थायी अनुमति पनि रद्द गरेको थियो। क्षेत्रीय तनाव बढिरहेका बेला जारी सैन्य गतिविधिले द्वन्द्व थप चर्किने चिन्ता बढाएको छ।

Facebook Comments Box
TOP
271 Shares