एआईको विस्तारसँगै विश्वको अमूर्त लगानी एक हजार खर्ब डलर नाघ्यो : डब्लुआइपिओ

ललितपुर । कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै सन् २०२५ मा सफ्टवेयर, डाटा, अनुसन्धान तथा विकासलगायत अमूर्त सम्पत्तिमा भएको विश्वव्यापी लगानी एक हजार खर्ब अमेरिकी डलर नाघेको संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व बौद्धिक सम्पत्ति संगठन (डब्लुआइपिओ) ले जनाएको छ।

डब्लुआइपिओ र रोमस्थित लुइस बिजनेस स्कुलले संयुक्त रूपमा सार्वजनिक गरेको ‘वल्र्ड इन्ट्यान्जिबल इन्भेस्टमेन्ट हाइलाइट्स २०२६’ प्रतिवेदनअनुसार अनुसन्धान तथा विकास, सफ्टवेयर, डाटा, ब्रान्ड, डिजाइन तथा संस्थागत ज्ञानमा हुने लगानी विश्व अर्थतन्त्रको प्रमुख आधार बन्दै गएको छ।

प्रतिवेदनमा विश्वको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ५७ प्रतिशत हिस्सा ओगट्ने २९ अर्थतन्त्रमा सन् २०२५ मा अमूर्त लगानी एक हजार खर्ब अमेरिकी डलरभन्दा माथि पुगेको उल्लेख गरिएको छ। अध्ययनमा अमेरिका, युरोपेली संघका सदस्य राष्ट्र, बेलायत, जापान, भारतलगायत देश समेटिए पनि चीन भने समावेश गरिएको छैन।

सन् २००८ यता अमूर्त लगानी वार्षिक औसत ३.५ प्रतिशतले बढेको छ भने सोही अवधिमा भौतिक सम्पत्तिमा भएको लगानीको औसत वृद्धि ०.९८ प्रतिशत मात्रै रहेको प्रतिवेदनले देखाएको छ। यसले विश्वव्यापी लगानीको स्वरूप परिवर्तन हुँदै गएको र मूल्य सिर्जनामा अमूर्त सम्पत्तिको भूमिका निरन्तर बढिरहेको डब्लुआइपिओको निष्कर्ष छ।

सन् २०२५ मा करिब ५०० खर्ब अमेरिकी डलरको अमूर्त लगानीसहित संयुक्त राज्य अमेरिका शीर्ष स्थानमा रहेको छ। जापान दोस्रो र जर्मनी तेस्रो स्थानमा छन्। जिडिपीको अनुपातका आधारमा भने स्विडेन सबैभन्दा अगाडि रहेको छ, जहाँ अमूर्त लगानी जिडिपीको १७.४ प्रतिशत पुगेको छ।

प्रतिवेदनका अनुसार उच्च ब्याजदर, व्यापारिक तनाव र आर्थिक सुस्तताका बीच पनि अमूर्त लगानी भौतिक लगानीभन्दा बढी लचिलो देखिएको छ। सन् २०२० देखि २०२५ सम्म अमूर्त लगानी वार्षिक ५.५ प्रतिशतले बढ्दा भौतिक लगानीको वृद्धि ३.२ प्रतिशतमा सीमित भएको छ।

डब्लुआइपिओले एआईलाई यस परिवर्तनको प्रमुख चालकका रूपमा उल्लेख गर्दै दीर्घकालीन रूपमा सफ्टवेयर, डाटा, अनुसन्धान तथा विकास र संस्थागत पुनर्संरचनामा लगानी बढ्ने जनाएको छ। सन् २०१३ देखि २०२३ सम्म सफ्टवेयर र डाटाबेस क्षेत्रमा भएको लगानी वार्षिक ७.३ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।

Facebook Comments Box
सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यकासहित चार जिल्लामा संक्रमण अझै कायम
१ दिन अगाडि

1.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौं । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु…

TOP
149 Shares