हर्मुज बन्द गरेपछि अमेरिका–इरान तनाव चुलियो, अमेरिकी हवाई आक्रमणको नयाँ चरण सुरु

तेहरान । इरानले विश्वकै रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण जलमार्ग मानिने स्ट्रेट अफ हर्मुज अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेसँगै अमेरिका र इरानबीचको सैन्य तनाव थप चुलिएको छ। इरानको उक्त निर्णयपछि अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण सुरु गरेको जनाएको छ।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजमाथि मिसाइल आक्रमण गरेपछि अमेरिकाले यो साताको तेस्रो ठूलो सैन्य कारबाही गरेको हो।
इरानी सञ्चारमाध्यमका अनुसार उक्त जहाजले हर्मुज जलडमरूमध्य हुँदै यात्रा गर्ने स्वीकृत मार्ग परिवर्तन गरेको तथा बारम्बारको चेतावनी बेवास्ता गरेपछि आईआरजीसीले क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ। त्यससँगै इरानले अर्को सूचना नभएसम्मका लागि स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ।
अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानको निर्णयलाई “गम्भीर भूल” भन्दै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। सेन्टकमका अनुसार इरानी आक्रमणबाट व्यापारिक जहाजको इन्जिन कक्षमा ठूलो क्षति पुगेको छ भने चालक दलका एक सदस्य बेपत्ता भएका छन्।
यसबीच, इरानका नयाँ सर्वोच्च नेता आयतोल्लाह मोज्तवा खामेनीले आफ्ना पिता तथा पूर्व सर्वोच्च नेता अली खामेनीको मृत्युको बदला लिने उद्घोष गरेपछि क्षेत्रीय तनाव थप बढेको छ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा अली खामेनी मारिएको इरानको दाबी छ। अन्त्येष्टि समारोहमा सहभागी हजारौँ समर्थकहरूले अमेरिका र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध नाराबाजी गर्दै प्रतिशोधको माग गरेका थिए।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कुनै पनि आक्रामक कदम चाले त्यसको “कडा र निर्णायक” जवाफ दिइने चेतावनी दिएका छन्। उता इरानी विदेशमन्त्री अब्बास अराघचीले भने अमेरिकामाथि युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्।
हर्मुज जलडमरूमध्य विश्वको प्रमुख तेल ढुवानी मार्गमध्ये एक भएकाले त्यहाँको बढ्दो तनावले अन्तर्राष्ट्रिय तेल बजार, विश्वव्यापी आपूर्ति शृंखला र क्षेत्रीय सुरक्षामा गम्भीर असर पर्ने चिन्ता बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Facebook Comments Box
महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको शव शिक्षण अस्पतालमा, सहमति नहुँदा परिवारले बुझेनन्
१ दिन अगाडि

1.5kViews 226 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१…

TOP
284 Shares