

सडकमा बढ्दो बेथिति : न चालकमा धैर्यता, न पैदलयात्रुमा चेत, अनि दोष सधैँ ट्राफिक प्रहरीलाई ?
काठमाडौंका सडकमा हरेक दिन देखिने दृश्य अब सामान्य होइन, चिन्ताजनक बनिसकेको छ। सडकमा गुड्ने सवारीदेखि पैदल हिँड्ने नागरिकसम्मले नियमलाई विकल्प ठान्न थालेका छन्। दुर्घटना भएपछि दोष अरूमाथि थोपर्ने प्रवृत्ति छ, तर दुर्घटना हुनुअघि आफ्नो जिम्मेवारी सम्झिने संस्कार भने कमजोर छ।
यतिबेला सरकारले ट्राफिक नियम उल्लङ्घन गर्ने चालक तथा पैदलयात्रुमाथि पाँच सयदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्तावसहित नयाँ कानुनको मस्यौदा अघि बढाएको छ। प्रस्तावित जरिवाना रकमलाई लिएर पक्ष–विपक्षमा बहस हुनु स्वाभाविक हो। कमजोर सडक पूर्वाधार, अपुग ट्राफिक व्यवस्थापन र अव्यवस्थित सार्वजनिक यातायातको समस्या समाधान नगरी नागरिकमाथि मात्र कठोर जरिवाना थोपर्न खोजिएको भन्दै आलोचना पनि भइरहेको छ। यो बहस जायज छ।
तर अर्को कटु यथार्थ पनि हामीले स्वीकार्नैपर्छ—जहाँ पूर्वाधार उपलब्ध छ, त्यहाँ पनि नियमको पालना भइरहेको छैन।
काठमाडौंका धेरै सडकमा आकाशे पुल छन्, जेब्रा क्रसिङ छन्, ट्राफिक लाइट छन्। तर ती प्रयोग गर्नुभन्दा सवारीको बीचबाट दौडिएर बाटो काट्ने मानिस धेरै देखिन्छन्। मोटरसाइकल चलाउँदै मोबाइल चलाउने चालक पनि उत्तिकै छन्। रातो बत्तीलाई सुझाव ठान्ने, लेन मिचेर अघि बढ्न खोज्ने, बसपकेट छाडेर जहाँ पायो त्यहीँ यात्रु चढाउने–ओराल्ने, डिभाइडर नाघ्ने, फलामे बारको खाली भागबाट छिर्ने र आफ्नो केही सेकेन्ड बचाउन अरूको ज्यान जोखिममा पार्ने प्रवृत्ति दिनदिनै बढिरहेको छ।
सबैभन्दा दुःखद पक्ष के हो भने यस्ता नियम उल्लङ्घनलाई धेरैले सामान्य ठान्न थालेका छन्। नियम पालना गर्नेलाई मूर्ख र नियम मिच्नेलाई चतुर सम्झिने सामाजिक मनोविज्ञान विकास हुँदै गएको छ। यही सोचले सडक संस्कृतिलाई झन् बिगारिरहेको छ।
विडम्बना त के छ भने दुर्घटना भयो भने पहिलो प्रश्न हुन्छ—”ट्राफिक प्रहरीले के गरिरहेको थियो ?”
के प्रत्येक चालकको छेउमा एक जना ट्राफिक प्रहरी उभिन सक्छ ? के प्रत्येक पैदलयात्रुको हात समातेर जेब्रा क्रसिङसम्म पुर्याउन सम्भव छ ? पक्कै होइन।
ट्राफिक प्रहरीको जिम्मेवारी नियम लागू गराउने हो, तर नियम पालना गर्ने जिम्मेवारी नागरिककै हो। ट्राफिक प्रहरीले जरिवाना गर्दा आक्रोश पोख्ने, तर नियम उल्लङ्घन गर्दा कुनै अपराधबोध नहुने प्रवृत्ति नै आजको सबैभन्दा ठूलो समस्या हो।
यसको अर्थ सरकारको दायित्व छैन भन्ने होइन। जहाँ आकाशे पुल छैन, त्यहाँ निर्माण गर्नुपर्छ। ट्राफिक लाइट नभएका चोकमा आधुनिक संकेत प्रणाली जडान गर्नुपर्छ। जेब्रा क्रसिङ स्पष्ट र सुरक्षित बनाउनुपर्छ। बसपकेट व्यवस्थित गर्नुपर्छ। सडक इन्जिनियरिङ सुधार्नुपर्छ। सार्वजनिक यातायातलाई अनुशासित बनाउनुपर्छ। सडक सुरक्षामा प्रविधिको प्रयोग बढाउनुपर्छ। कानुन कडा मात्र होइन, न्यायपूर्ण र व्यवहारिक पनि हुनुपर्छ।
तर यी सबै सुधारपछि पनि नागरिकमा चेतना आएन भने दुर्घटना रोकिने छैन। नियमले मात्र सडक सुरक्षित हुँदैन, नियमप्रतिको सम्मानले सडक सुरक्षित हुन्छ।
आज काठमाडौंका सडकमा एउटा रोचक तर गम्भीर सन्देश दिने दृश्य पनि देखिन्छ—कतिपय ठाउँमा मानिसहरू जेब्रा क्रसिङ छाडेर जथाभाबी बाटो काटिरहेका हुन्छन्, तर एउटा सडक कुकुर भने जेब्रा क्रसिङबाटै सडक पार गरिरहेको देखिन्छ। यो दृश्य हास्यास्पद मात्र होइन, हाम्रो सडक संस्कृतिमाथिको गम्भीर व्यंग्य पनि हो।
सडकमा सुरक्षित यात्रा गर्ने अधिकार सबैलाई छ। तर त्यो अधिकारसँगै नियम पालना गर्ने दायित्व पनि जोडिएको हुन्छ। चालकले धैर्यता सिक्नुपर्छ, पैदलयात्रुले अनुशासन सिक्नुपर्छ, सरकारले पूर्वाधार सुधार्नुपर्छ र ट्राफिक प्रहरीले निष्पक्ष रूपमा कानुन लागू गर्नुपर्छ। यी चार पक्षमध्ये एउटा मात्र कमजोर हुँदा पनि दुर्घटनाको जोखिम बढ्छ।
अब समय आएको छ—सडक दुर्घटनाको दोष केवल ट्राफिक प्रहरी, सरकार वा पूर्वाधारलाई मात्रै दिएर उम्किने होइन। ऐन कडा हुनु आवश्यक छ, तर त्यसभन्दा धेरै आवश्यक छ नागरिकको सोच परिवर्तन हुनु। किनभने सुरक्षित सडकको सुरुवात कानुनबाट होइन, नागरिकको चेतनाबाट हुन्छ।
समाज
थप सामाग्री
सडकमा बढ्दो बेथिति : न चालकमा धैर्यता, न पैदलयात्रुमा चेत, अनि दोष सधैँ ट्राफिक प्रहरीलाई ?
१५ घण्टा अगाडि
1.8kViews 139 Shares Share on Facebook Share on Twitter काठमाडौंका सडकमा हरेक दिन देखिने दृश्य अब सामान्य होइन, चिन्ताजनक बनिसकेको…





