

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज विविध कार्यक्रमसहित मनाइँदै
काठमाडौँ । नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज नेपालसहित नेपाली भाषी समुदाय रहेका विभिन्न देशमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।
नेपाली साहित्यमा पहिलोपटक संस्कृत भाषामा लेखिएको रामायणलाई सरल नेपाली भाषामा भावानुवाद गरी जनजनमा पुर्याउने श्रेय भानुभक्तलाई जान्छ। उनले तयार पारेको नेपाली रामायण आज पनि नेपाली समाजका घरघरमा श्रद्धापूर्वक पाठ गर्ने परम्परा कायम छ।
भौगोलिक रूपमा पृथ्वीनारायण शाहले एकीकरण गरेको नेपाललाई भाषा, साहित्य र संस्कृतिको माध्यमबाट भावनात्मक रूपमा जोड्ने काम आदिकवि भानुभक्तले गरेको साहित्यकारहरू बताउँछन्। नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र सांस्कृतिक चेतना निर्माणमा उनको योगदान ऐतिहासिक मानिन्छ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक घाँसीले दिएको प्रेरणाले समाजका लागि अमर काम गर्ने सोच विकास भएको जनविश्वास छ। घाँसीको ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भन्ने अर्तीबाट प्रभावित भानुभक्तले नेपाली भाषामा रामायण रचना गर्ने प्रेरणा पाएका थिए।
भानुभक्तका वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता तथा विभिन्न फुटकर रचनाहरू नेपाली साहित्यका महत्वपूर्ण कृतिका रूपमा स्थापित छन्।
भानु जयन्तीको अवसरमा आज देशभर आदिकविको स्मरण गर्दै प्रतिमामा माल्यार्पण, प्रभातफेरी, साहित्यिक गोष्ठी तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिँदै छन्। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको भानुभक्तको प्रतिमामा विशेष कार्यक्रमसहित श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ।
यस अवसरमा भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले पनि विविध कार्यक्रम आयोजना गरेका छन्। भानु प्रतिष्ठान, नेपाली शिक्षा परिषद्लगायत संस्थाले साहित्यिक कार्यक्रममार्फत आदिकविको योगदानको चर्चा गर्दैछन्।
नेपालबाहेक भारतको दार्जिलिङ, सिक्किम, भुटान, म्यानमार (बर्मा) लगायत नेपाली भाषाभाषीको बसोबास रहेका विभिन्न स्थानमा समेत भानुभक्त आचार्यको जन्मजयन्ती विशेष श्रद्धाका साथ मनाइँदै आएको छ।
समाज
थप सामाग्री
सडकमा बढ्दो बेथिति : न चालकमा धैर्यता, न पैदलयात्रुमा चेत, अनि दोष सधैँ ट्राफिक प्रहरीलाई ?
१५ घण्टा अगाडि
1.8kViews 139 Shares Share on Facebook Share on Twitter काठमाडौंका सडकमा हरेक दिन देखिने दृश्य अब सामान्य होइन, चिन्ताजनक बनिसकेको…





