

प्रतिनिधि र राष्ट्रिय सभाका चार समितिको बैठक आज, विभिन्न विषयमा छलफल हुने
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका चारवटा समितिको बैठक सोमबार बस्ने भएको छ। संसद् सचिवालयका अनुसार ती बैठकमा फरक–फरक विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको १३औँ बैठक बिहान ८ः३० बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयको समितिको कक्षमा बस्नेछ। बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट भएका मुख्य कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयन अवस्था, मध्यकालीन खर्च संरचना (एमटीएफ) को कार्यान्वयन तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना लगायत विकास आयोजनाको प्रगतिबारे जानकारी लिने कार्यसूची रहेको छ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल हुनेछ।
उक्त छलफलका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका मन्त्री र सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषय विज्ञ डा. गोपालकुमार चौधरीलाई आमन्त्रण गरिएको छ।
यसैगरी, प्रतिनिधि सभाकै कानुन, न्याय तथा मानव अधिकार समितिको आठौँ बैठक पनि सोमबार दिउँसो १ बजे बस्नेछ। बैठकमा ‘बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३’ माथि छलफल गरिनेछ।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक भने बिहान ११ः३० बजे बस्ने तय भएको छ। बैठकमा मधेस प्रदेशमा गरिएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ।
संसद् सचिवालयले सम्बन्धित समितिका सदस्य तथा सरोकारवालालाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ।
समाज
थप सामाग्री
सडकमा बढ्दो बेथिति : न चालकमा धैर्यता, न पैदलयात्रुमा चेत, अनि दोष सधैँ ट्राफिक प्रहरीलाई ?
१६ घण्टा अगाडि
1.8kViews 139 Shares Share on Facebook Share on Twitter काठमाडौंका सडकमा हरेक दिन देखिने दृश्य अब सामान्य होइन, चिन्ताजनक बनिसकेको…





