जापानका २५% भन्दा बढी नगरपालिकामा १०% भन्दा बढी जनसङ्ख्या घट्यो

टोकियो । जापानमा जनसङ्ख्या घट्ने क्रम तीव्र बन्दै गएको छ। जापानी समाचार संस्था क्योदो न्युजका अनुसार सन् २०२० देखि २०२५ को अवधिमा देशका एक चौथाइभन्दा बढी नगरपालिकामा जनसङ्ख्या १० प्रतिशतभन्दा बढीले घटेको छ।

विश्लेषणअनुसार सन् २०१५–२०२० मा २४७ नगरपालिका यस अवस्थाबाट प्रभावित भएकामा पछिल्लो पाँच वर्षमा यो संख्या बढेर ४७७ पुगेको छ। सबैभन्दा ठूलो गिरावट इशिकावा प्रिफेक्चरको सुजु सहरमा देखिएको छ, जहाँ सन् २०२४ को शक्तिशाली भूकम्पपछि जनसङ्ख्या ३४ प्रतिशतले घटेको छ।

उत्तरपूर्वी जापानका इवाते र अकिता तथा पश्चिमी जापानको कोची प्रिफेक्चरका आधाभन्दा बढी नगरपालिकामा पनि जनसङ्ख्या १० प्रतिशतभन्दा बढीले घटेको पाइएको छ। यो अध्ययन सन् २०२० को राष्ट्रिय जनगणना र सन् २०२५ को प्रारम्भिक जनगणनाका तथ्याङ्कका आधारमा गरिएको हो।

विशेषज्ञहरूले घट्दो जनसङ्ख्याले सार्वजनिक सेवा, स्थानीय अर्थतन्त्र र सामुदायिक संरचनामा गम्भीर असर पार्ने चेतावनी दिएका छन्। २४३ नगरपालिकामा जनसङ्ख्या बढे पनि देशभर समग्र रूपमा जनसङ्ख्या घट्ने प्रवृत्ति कायम रहेको र यसको समाधानका लागि प्रभावकारी दीर्घकालीन नीति आवश्यक रहेको उनीहरूको भनाइ छ।

Facebook Comments Box
TOP
199 Shares