मिडिया हाउसबाहिर शंकास्पद गाडी पार्किङ घटनाप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न सञ्चारमाध्यमका कार्यालयअगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले उक्त घटनाको कडा भर्त्सना गर्दै यसले स्वतन्त्र प्रेसमाथि त्रास सिर्जना गर्ने र लोकतान्त्रिक मूल्य–मान्यतामाथि आघात पुर्‍याउने प्रयास भएको उल्लेख गरेको छ।

रास्वपाका महामन्त्री विपिन आचार्यद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्न जोसुकै भए पनि तत्काल निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीलाई कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग माग गरिएको छ। साथै, सञ्चारमाध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा राख्ने वा निर्भीक पत्रकारितामा अवरोध पुर्‍याउने कुनै पनि गतिविधि अस्वीकार्य रहेको पार्टीले स्पष्ट पारेको छ।

पार्टीले स्वतन्त्र पत्रकारिता, पूर्ण प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने मौलिक अधिकारप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याउँदै कुनै पनि दबाब वा त्रासको प्रभावमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिता जारी राख्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ। साथै, सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्नेमा पनि रास्वपाले जोड दिएको छ।

Facebook Comments Box
TOP
118 Shares