देशभर मनसुन सक्रिय : आज धेरै स्थानमा वर्षा, पाँच प्रदेशमा अति भारी वर्षाको जोखिम

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज अधिकांश क्षेत्रमा वर्षा हुने र केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बाढी, पहिरो र डुबानको जोखिम बढ्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा औसत स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई आसपास तथा पूर्वमा औसत स्थानकै आसपास रहेकाले देशभर यसको प्रभाव देखिएको हो। अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, पहाडी र तराईका धेरै स्थानमा पनि चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि मनसुनको प्रभाव कायमै रहनेछ। देशभर अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ भने पहाडी भूभाग, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले ती क्षेत्रमा बाढी, पहिरो, भूक्षय, नदी तथा खोलामा आकस्मिक बहाव बढ्ने र शहरी क्षेत्रमा डुबानको जोखिम उच्च रहने महाशाखाले चेतावनी दिएको छ।

महाशाखाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक यात्रा नगर्न, नदी तथा खोलाको किनारबाट टाढा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरेको छ।

Facebook Comments Box
गृहमन्त्रीको फिल्ड अपरेशन : सक्रियता कि जिम्मेवारीको सीमामाथिको हस्तक्षेप ?
१ दिन अगाडि

2.2kViews 392 Shares Share on Facebook Share on Twitter गृहमन्त्री राज्यको आन्तरिक सुरक्षा व्यवस्थाको नेतृत्व गर्ने राजनीतिक जिम्मेवारीमा रहेका व्यक्ति…

TOP
216 Shares