चिकित्सक संघको आन्दोलन : आज देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द

काठमाडौं । नारायणी अस्पताल वीरगन्जमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

संघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत साउन १२ गते मंगलबार देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका ओपीडी, नियमित उपचार, स्वास्थ्य परीक्षणलगायतका सेवाहरू बन्द गर्ने जानकारी दिएको हो।

स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै संघले दोषीमाथि कडा कानुनी कारबाही र स्वास्थ्य संस्थामा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

संघका अनुसार गत साउन ९ गते वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणमा उनीहरू गम्भीर घाइते भएका थिए। आक्रमणका क्रममा अस्पताल परिसरमा तोडफोडसमेत गरिएको संघको भनाइ छ।

चिकित्सक संघले स्वास्थ्य संस्था उपचार र सेवाको केन्द्र हुनुपर्नेमा पटक–पटक चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणले समग्र स्वास्थ्य प्रणालीमै चुनौती थपिएको जनाएको छ।

संघले स्वास्थ्यकर्मीको सुरक्षालाई प्राथमिकतामा राख्दै दोषीलाई तत्काल कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ।

स्वास्थ्य सेवा बन्द हुँदा देशभरका हजारौँ बिरामी प्रभावित हुने भएकाले सरकारले तत्काल संवाद र समाधानको पहल गर्नुपर्ने आवाजसमेत उठिरहेको छ। आकस्मिक सेवामा भने कुनै अवरोध नहुने संघले स्पष्ट पारेको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
344 Shares