असारमा तिरेको भ्याट भदौको बिजुली बिलमा समायोजन हुने, विद्युत् प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताले असार महिनामा खपत गरेको बिजुलीको महसुलमा तिरिसकेको मूल्य अभिवृद्धि कर (भ्याट)लाई अग्रिम भुक्तानीका रूपमा कायम गरी भदौ महिनाको बिजुली बिलमा समायोजन गर्ने भएको छ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै असारको बिलमा भ्याट तिरेका ग्राहकको उक्त रकम भदौको बिलमा समायोजन गरिने जनाएको हो।

यसअघि प्राधिकरणले असारमै खपत भएको बिजुलीको बिलमा भ्याट जोडेर साउनयता ग्राहकलाई बिल पठाएको थियो। साउन १ गतेदेखि मात्र लागू हुने भ्याट असारको खपतमा किन जोडिएको भन्दै चौतर्फी आलोचना भएको थियो।

विवादपछि प्राधिकरणले आन्तरिक राजस्व विभागसँग राय मागेको थियो। विभागले साउन १ गतेदेखि मात्रै विद्युत् खपतमा भ्याट लागू हुने स्पष्ट गरेपछि अन्योल हटेको हो।

आर्थिक ऐन २०८३ अनुसार विद्युत् सेवाको अन्तिम उपभोक्तालाई ५ प्रतिशत तथा अन्य व्यक्तिका हकमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरिएको छ।

अब साउनअघि खपत भएको बिजुलीको बिलमा भ्याट तिरेका ग्राहकले भदौको बिलमा सोही रकम बराबरको समायोजन (छुट) पाउने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

 

Facebook Comments Box
TOP
165 Shares