सर्वदलीय बैठकद्वारा सात बुँदे संयुक्त अपिल जारी, शान्ति र सामाजिक सद्भाव कायम राख्न आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सुनसरीलगायत देशका विभिन्न जिल्लामा विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सात बुँदे संयुक्त वक्तव्य जारी गरेको छ।

बैठकले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न, पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ। साथै, आवेग, हिंसा र उत्तेजनामा नलागी सबै पक्षलाई संयमता अपनाउन तथा असन्तुष्टि र मागहरू शान्तिपूर्ण संवादमार्फत समाधान गर्न आह्वान गरिएको छ।

संयुक्त वक्तव्यमा केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय तथा सर्वपक्षीय संवादलाई प्रभावकारी बनाउँदै धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनसँग समन्वय गरी सामाजिक सद्भाव कायम राख्नुपर्ने उल्लेख गरिएको छ। यस्तै, सामाजिक सञ्जालमा फैलिने अफवाह, भ्रामक सूचना र घृणास्पद अभिव्यक्तिबाट सतर्क रहन तथा सञ्चारमाध्यमलाई तथ्यपरक र जिम्मेवार समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ।

बैठकले देवानगञ्ज घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। संयुक्त वक्तव्यमा रास्वपा, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), लोसपा, राप्रपा, जनमत पार्टी, जसपा नेपाललगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले हस्ताक्षर गरेका छन्।

Facebook Comments Box
TOP
353 Shares