भोटेकोशी बाढी प्रभावितका लागि गोरखाका ११ पालिकाले जुटाए ३ करोड ५१ लाखभन्दा बढी

पोखरा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गोरखाका ११ स्थानीय तहले ३ करोड ५१ लाख ७८ हजार रुपैयाँभन्दा बढी सहयोग जुटाएका छन्।

जिल्लाका स्थानीय तहले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएका छन्। बाढीबाट गोरखाका विभिन्न क्षेत्रमा समेत ठूलो जनधनको क्षति भएपछि स्थानीय तहहरूले प्रभावितका लागि सहयोग रकम जुटाएका हुन्।

सबैभन्दा धेरै गोरखा नगरपालिकाले ५० लाख रुपैयाँ सङ्कलन गरेको छ। नगरपालिकाका अनुसार जनप्रतिनिधिबाट ५ लाख, शिक्षक तथा कर्मचारीबाट ३१ लाख ४० हजार ५८९, नगरपालिकाले नियुक्त गरेका कर्मचारीबाट ११ लाख ३२ हजार ८९० र नगरपालिकाको कोषबाट २ लाख २६ हजार ५२१ रुपैयाँ गरी ५० लाख रुपैयाँ सङ्कलन गरिएको हो।

त्यस्तै, पालुङटार नगरपालिकाले ३९ लाख रुपैयाँ, भीमसेनथापा गाउँपालिकाले ३५ लाख रुपैयाँ र सिरानचोक गाउँपालिकाले ३३ लाख ५० हजार रुपैयाँ सहयोग जुटाएका छन्।

सहिद लखन गाउँपालिकाले ३० लाख ७५ हजार, बारपाक सुलिकोट गाउँपालिकाले २८ लाख ५९ हजार, अजिरकोट गाउँपालिकाले २७ लाख ६६ हजार, गण्डकी गाउँपालिकाले २० लाख र धार्चे गाउँपालिकाले १५ लाख रुपैयाँ सङ्कलन गरेका छन्।

यसैगरी चुमनुब्री गाउँपालिकाले १२ लाख २० हजार र आरुघाट गाउँपालिकाले ११ लाख ३३ हजार रुपैयाँ राहतका लागि जुटाएका छन्। ११ वटै स्थानीय तहबाट सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ।

भोटेकोशी बाढीका कारण गोरखाको गण्डकी र सहिद लखन गाउँपालिका पनि प्रभावित भएका छन्। त्रिशूली नदी आसपासका क्षेत्रमा सडक, पुललगायतका भौतिक संरचनामा क्षति पुगेको छ। कतिपय स्थानमा सडक पहिरोले अवरुद्ध भएका छन् भने पुलहरू बगाउँदा आवागमनसमेत प्रभावित भएको स्थानीय तहहरूले जनाएका छन्।

यसैबीच पालुङटारबाट गएको बस नुवाकोटको भैंसे क्षेत्रमा बाढीमा परेर बगेको थियो। उक्त घटनामा ३१ जना अझै बेपत्ता रहेको जनाइएको छ। गोरखाबाट रसुवा क्षेत्रमा काम गर्न गएका केही व्यक्तिसमेत बाढीपछि सम्पर्कविहीन रहेको स्थानीय तहहरूले बताएका छन्।

बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतसँगै क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि स्थानीय तहहरूले तत्कालीन सहयोगलाई निरन्तरता दिने बताएका छन्।

Facebook Comments Box
TOP
15 Shares