
विश्वकर्मा पूजा : औजार, यन्त्र र सवारी साधनको पूजाआराधनासहित मनाइँदै

काठमाडौं । कालिगढ तथा श्रमिकले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गरी विश्वकर्मा पर्व मनाउँदै छन्। प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने यस पर्वमा कलकारखाना, उद्योग, वर्कसप तथा विभिन्न प्राविधिक क्षेत्रमा प्रयोग हुने औजार, उपकरण, मेसिन तथा सवारी साधनको पूजाआराधना गर्ने परम्परा छ।
विश्वकर्मा पर्वका अवसरमा बिहानैदेखि कलकारखाना तथा कार्यस्थललाई विशेष रूपमा सजाएर भगवान् विश्वकर्माको तस्बिर वा मूर्ति स्थापना गरी विधिपूर्वक पूजा गर्ने गरिन्छ। कालिगढ तथा श्रमिकले आफूले दैनिक काममा प्रयोग गर्ने औजार, मेसिन र उपकरणलाई सफा गरी पूजा तथा आराधना गर्ने भएकाले आजका दिन उद्योग तथा वर्कसपहरूमा विशेष चहलपहल देखिन्छ।
धार्मिक मान्यताअनुसार विश्वकर्माको पूजाआराधना गरी औजार तथा उपकरण प्रयोग गर्दा ती लामो समयसम्म टिक्ने, कामका क्रममा बिग्रने सम्भावना कम हुने र राम्रो तथा सफल काम गर्न सकिने विश्वास छ। यही धार्मिक विश्वासका कारण आज इञ्जिन जडान भएका विभिन्न यन्त्र तथा सवारी साधनको समेत पूजाआराधना गरिन्छ।
विश्वकर्मा पूजाका क्रममा बालुवा तथा अन्य सामग्रीबाट निर्माण गरिएको विश्वकर्माको मूर्ति पूजा सम्पन्न भएपछि वाग्मतीको मुहानस्थल सुन्दरीजललगायतका शुद्ध स्थानमा लगेर विसर्जन गर्ने परम्परा पनि छ।
पौराणिक कथनअनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी कृष्णलाई सुरक्षित राखेको विश्वास गरिन्छ। प्राचीन भारतवर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिने धार्मिक मान्यता छ। विश्वकर्माले निर्माण गरेको भनिएको ‘भेद द्वारका’ हाल भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ।
विश्वकर्मालाई वास्तुविद्या तथा निर्माणकलाका विशिष्ट ज्ञाताका रूपमा समेत सम्मान गरिन्छ। निर्माण, कला, शिल्प तथा प्राविधिक सीपसँग जोडिएका व्यक्तिले भगवान् विश्वकर्मालाई आफ्नो पेशा र सीपका आदर्शका रूपमा श्रद्धापूर्वक स्मरण गर्ने गर्छन्।
यसै धार्मिक तथा सांस्कृतिक विश्वासका आधारमा नेपालका कालिगढ, श्रमिक, प्राविधिक तथा उद्योगीले हरेक वर्ष भव्य रूपमा विश्वकर्मा बाबाको पूजाआराधना गरी उहाँको विद्वता, शिल्पकला र निर्माणकौशलप्रति सम्मान प्रकट गर्छन्। विश्वकर्माको पूजाआराधना गरेमा आफूमा पनि उहाँका गुण र सीप प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
यस्तै, वास्तुशास्त्रका पुस्तकका लेखक तथा अध्येताको सम्झनामा वास्तुविद्ले आजको दिनलाई ‘वास्तु दिवस’का रूपमा समेत मनाउने गर्छन्।
समाज
थप सामाग्री
बाढी–पहिरोले देशभरका मुख्य सडक प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै एकतर्फी सञ्चालन
१ दिन अगाडि
1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न मुख्य…





