
कागे अष्टमीमा कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो, काग दोष निवारणको विश्वास

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा–आराधना तथा दर्शन गरी मनाइँदैछ।
कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिरमा पुगेर भगवान् शिवको पूजा–आराधना तथा दर्शन गरे कागको स्पर्शलगायत काग दोषबाट मुक्ति पाइने धार्मिक विश्वास छ। वर्षभरिमा कागले छोएको वा कागसम्बन्धी दोष लागेको ठानिएका व्यक्तिले यस दिन कागेश्वरी महादेवको दर्शन तथा पूजा गर्नुपर्ने जनविश्वास रहिआएको छ।
यस दिन कागेश्वरी महादेवलाई हरियो मकै चढाएमा कागले खेतबारीमा लगाइएको मकै नखाने धार्मिक मान्यता पनि छ। यही विश्वासका कारण कागे अष्टमीमा कागेश्वरी मन्दिरमा मकै चढाउने भक्तजनको समेत उल्लेख्य भीड लाग्ने गरेको छ।
गोसाइँकुण्डसँग पनि कागे अष्टमीको धार्मिक सम्बन्ध रहेको छ। श्रावण शुक्ल पूर्णिमा तथा गङ्गा दशहराका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड पुगेका भक्तजनले त्यहाँबाट ल्याएको पवित्र जल कागेश्वरीमा चढाउनुपर्ने धार्मिक विधि रहेको मानिन्छ। गोसाइँकुण्डको यात्रा पूरा गरेपछि कागेश्वरीमा आएर जल अर्पण नगरे धार्मिक यात्रा पूर्ण नहुने जनविश्वाससमेत छ।
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको कागेश्वरी महादेव मन्दिर ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलका रूपमा परिचित छ। कागेश्वरी मनोहरा नगरपालिका–१ मा रहेको मन्दिरमा कागे अष्टमीका अवसरमा विशेष मेला लाग्ने भएकाले देशका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन्।
भक्तजनलाई सहज रूपमा मन्दिरसम्म पुग्ने व्यवस्था मिलाइएको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले जानकारी दिनुभएको छ। मेलामा आउने भक्तजनको सुविधालाई ध्यानमा राख्दै यातायात व्यवस्थापन तथा अन्य आवश्यक तयारी गरिएको नगरपालिकाले जनाएको छ।
मन्दिर परिसरमा २२७ किलोको अष्टधातुबाट निर्मित कागको मूर्ति रहेको छ, जुन यहाँको प्रमुख आकर्षणका रूपमा रहेको छ। यसलाई नेपालकै ठूलो कागको मूर्ति मानिन्छ। त्यस्तै, यही क्षेत्रको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलो अष्टधातुबाट विश्वकै ठूलो कागको मूर्ति निर्माण गरिएको छ। उक्त मूर्ति निर्माणका लागि स्थानीयवासीले अष्टधातु दान गरी सहयोग गरेका थिए।
कागेश्वरी महादेव मन्दिरकै नामबाट कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण गरिएको हो। नगरपालिकाले कागे अष्टमीका अवसरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगर क्षेत्रमा सार्वजनिक बिदासमेत दिँदै आएको छ।
नगरपालिकाको नामकरण भएदेखि नै कागे अष्टमीका अवसरमा महोत्सव आयोजना हुँदै आएको छ। मेलाका क्रममा तामाङ तथा नेवार समुदायका मौलिक सांस्कृतिक झाँकी, धार्मिक कार्यक्रम तथा स्थानीय उत्पादनको प्रदर्शनसमेत गरिन्छ।
कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौं उपत्यकाका तीन जिल्लासहित नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुली, धादिङ, चितवनलगायत जिल्लाबाट भक्तजन तथा दर्शनार्थी आउने गरेका छन्। उपत्यकामा बसोबास गर्ने देशका विभिन्न जिल्लाका नागरिकसमेत काग दोष निवारण हुने धार्मिक विश्वासका साथ आज कागेश्वरी पुग्ने गर्छन्।
कागेश्वरी महादेव मन्दिर पुग्न नसक्ने भक्तजनले काठमाडौंको हनुमानढोका तथा पशुपति क्षेत्रमा रहेका कागेश्वरी मन्दिरमा पूजा–आराधना तथा दर्शन गर्ने गरेका छन्। देशका अन्य स्थानमा रहेका कागेश्वर तथा कागेश्वरी मन्दिरमा पनि कागे अष्टमीका अवसरमा विशेष पूजा–आराधना भइरहेको छ।
समाज
थप सामाग्री-
कागे अष्टमीमा कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो, काग दोष निवारणको विश्वास
-
भोटेकोशी बाढी प्रभावितका लागि गोरखाका ११ पालिकाले जुटाए ३ करोड ५१ लाखभन्दा बढी
-
छानबिनको कठघरामा आईजीपी कि प्रमाणविहीन आरोप लगाउने सांसद?
-
चलचित्र चंगुलको ट्रेलर रिलिज
-
हेटौँडाबाट काठमाडौँ जाने त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात खुला
आज असोज २ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter मेष आत्मविश्वास र दृढताले पुराना अवरोध हटाउँदै लक्ष्यतर्फ अघि बढ्न सकिनेछ।…





