
मुस्ताङमा रसुवा बाढीको असर : भदौमा पर्यटक आगमन ४७.७८ प्रतिशत घट्यो

मुस्ताङ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिमाली जिल्ला मुस्ताङको पर्यटन क्षेत्रमा समेत असर परेको देखिएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनको तुलनामा भदौमा मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा घटेको हो।
कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक बाढी, पहिरो तथा नदी कटानका कारण साउनमा दर्जनौँ पटक अवरुद्ध भए पनि मुस्ताङमा पर्यटक आगमन उल्लेख्य थियो। तर, रसुवाको भोटेकोशीमा आएको बाढीपछि भदौमा भने पर्यटक आगमन ह्वात्तै घटेको प्रहरीको तथ्याङ्कले देखाएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङअन्तर्गत म्याग्दी–मुस्ताङ सीमास्थित घाँसा प्रहरी चौकीको तथ्याङ्कअनुसार चालु वर्षको साउनमा आन्तरिक ३० हजार ६५५, सार्क राष्ट्रका ३१ हजार ५७५ र अन्य राष्ट्रका १९३ गरी कुल ६१ हजार २६३ पर्यटक मुस्ताङ पुगेका थिए।
भदौमा भने आन्तरिक १६ हजार ५०३, सार्क राष्ट्रका १५ हजार १३८ र अन्य राष्ट्रका ३४८ गरी कुल ३१ हजार ९८९ पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्। साउनको तुलनामा भदौमा २९ हजार २७४ पर्यटक घटेका छन्। यो अघिल्लो महिनाको तुलनामा ४७.७८ प्रतिशतले कम हो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार साउनको तुलनामा भदौमा आन्तरिक पर्यटक १४ हजार १५२ अर्थात् ४६.१६ प्रतिशत र सार्क राष्ट्रका पर्यटक १६ हजार ४३७ अर्थात् ५२.०५ प्रतिशतले घटेका छन्।
यद्यपि, अन्य मुलुकबाट आउने पर्यटकको सङ्ख्या भने बढेको छ। साउनमा १९३ जना विदेशी पर्यटक मुस्ताङ पुगेकामा भदौमा ३४८ जना पुगेका छन्। यसअनुसार अन्य राष्ट्रका पर्यटक १५५ जना बढेका हुन्।
चालु आर्थिक वर्षको साउन र भदौमा गरी मुस्ताङमा कुल ९३ हजार २५२ पर्यटक पुगेका छन्। तीमध्ये ४७ हजार १५८ आन्तरिक, ४६ हजार ७१३ सार्क राष्ट्रका र ४४१ अन्य राष्ट्रका पर्यटक रहेका छन्।
प्रहरी निरीक्षक बस्यालले भदौ १० गते रसुवामा भएको बाढीको घटनापछि मुलुक नै शोकमा रहेकाले त्यसको प्रभाव मुस्ताङको पर्यटनमा परेको हुनसक्ने बताए। उनका अनुसार विपद्का कारण मानिसहरूको यात्रा तथा घुमफिरको योजनामा समेत असर परेको हुनसक्छ।
गत आर्थिक वर्ष २०८२/८३ को साउनमा १९ हजार ७८१ र भदौमा २३ हजार २०५ गरी दुई महिनामा ४२ हजार ९८६ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। गत वर्षको सोही अवधिको तुलनामा चालु वर्षमा पर्यटक आगमन समग्रमा बढेको भए पनि चालु वर्षको साउनको तुलनामा भदौमा भने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा घटेको प्रहरी तथ्याङ्कले देखाएको छ।
समाज
थप सामाग्री-
रसुवा–नुवाकोटका बाढीपीडितको पीडामा भगबती चौधरीको साथ, ‘जग्गा सरकारले देओस्, घर हामी बनाउँछौँ’
-
आज असोज ४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
प्रहरी सरुवाको गृहकार्यमा ढिलाइ, डीआईजीदेखि इन्स्पेक्टरसम्मको सूची गृह मन्त्रालयमै रोकियो
-
मुस्ताङमा रसुवा बाढीको असर : भदौमा पर्यटक आगमन ४७.७८ प्रतिशत घट्यो
-
भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि घले दम्पतीद्वारा ५७ करोड ८५ लाख सहयोग घोषणा
कागे अष्टमीमा कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो, काग दोष निवारणको विश्वास
१ दिन अगाडि
1.3kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी…





