

अडियो विवादपछि रौतहटका बीओपी इन्चार्ज हटाइए, सीमा तस्करी नियन्त्रणको प्रभावकारितामाथि फेरि प्रश्न
रौतहट । नेपाल–भारत सीमामा तस्करी नियन्त्रणको जिम्मेवारीमा रहेका सशस्त्र प्रहरीका एक अधिकारीलाई विवादास्पद अडियो सार्वजनिक भएपछि जिम्मेवारीबाट हटाएर अनुसन्धान थालिएको छ।
बीओपी सरमुजवाका इन्चार्ज इन्स्पेक्टर गणेश बोहरा र एक कथित तस्करबीच भएको भनिएको संवादको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई छिन्नमस्ता बाहिनी तानेर अनुसन्धान अघि बढाइएको सुरक्षा स्रोतले जनाएको छ।
घटनापछि प्रस्तावित भन्सार गुल्म गौरका प्रमुख डीएसपी प्रेमसागर बिष्टको पनि सरुवा गरिएको छ। उनको स्थानमा सशस्त्र प्रहरी नम्बर–७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट डीएसपी दुर्गा प्रसाईं भट्टलाई खटाइएको छ।
यद्यपि सार्वजनिक भएको अडियोको आधिकारिक प्रामाणिकता हालसम्म पुष्टि भएको छैन। त्यसैले यसको फरेन्सिक परीक्षणसहित निष्पक्ष र तथ्यमा आधारित अनुसन्धान हुनुपर्ने माग स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म उठिरहेको छ।
अडियो सार्वजनिक भएपछि छिन्नमस्ता बाहिनीका प्रवक्ता एसएसपी सुभाष भण्डारीको नेतृत्वमा गएको टोलीले बीओपी सरमुजवामा पुगेर स्थलगत निरीक्षण गरेको थियो। टोलीले बौधीमाई नगरपालिकाका जनप्रतिनिधि, व्यापारी, युवा तथा स्थानीयवासीसँग इन्स्पेक्टर बोहराको कार्यशैलीबारे मौखिक तथा लिखित रायसमेत संकलन गरेको जनाएको छ।
स्थानीयले टोलीसमक्ष घरायसी प्रयोजनका लागि भारतबाट ल्याइने सामानमा कडाइ गरिए पनि आर्थिक प्रभावमा संगठित तस्करीलाई संरक्षण दिएको आरोप लगाएका छन्। उनीहरूको दाबीअनुसार त्यसबाट राज्यले लाखौँ रुपैयाँ राजस्व गुमाएको छ भने सर्वसाधारण अनावश्यक सास्ती खेप्न बाध्य भएका छन्।
स्थलगत अनुगमनका क्रममा एसएसपी भण्डारीले संगठनले आचरणविपरीतका गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाएको बताउँदै सार्वजनिक अडियो अनुसन्धानको एउटा आधार मात्र भएको र वास्तविकता विस्तृत छानबिनपछि मात्रै स्पष्ट हुने बताएका छन्।
सुरक्षा स्रोतका अनुसार छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी विष्णुप्रसाद भट्टले सीमा क्षेत्रमा तस्करी नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै शंकास्पद गतिविधिमा संलग्न कर्मचारीमाथि कठोर कारबाही गर्ने नीति लिएका छन्। सोही नीतिअनुसार बोहरामाथिको अनुसन्धान अघि बढाइएको बताइएको छ।
स्थानीय व्यापारीका अनुसार बङ्कुल, रामपुरखाप र सरमुजवा लगायतका सीमावर्ती नाकाबाट रातिको समयमा कपडा, किराना, कस्मेटिक तथा हार्डवेयर सामग्रीको अवैध ओसारपसार हुने गरेको छ। प्रभावकारी निगरानी र जवाफदेहिताको अभावले संगठित तस्करी नियन्त्रण चुनौतीपूर्ण बनेको उनीहरूको भनाइ छ।
जिल्ला भन्सार कार्यालय गौरका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सशस्त्र प्रहरी नम्बर–११ गण रौतहटले ४ करोड ५ लाख १९ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार बुझाएको छ। सोही अवधिमा नेपाल प्रहरीले ५ करोड ५५ लाख १८ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएर भन्सार बुझाएको तथ्यांक सार्वजनिक भएको छ। यही तथ्यांकलाई आधार बनाएर केही स्थानीयले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन्।
रौतहटमा तस्करी नियन्त्रणका लागि नम्बर–११ गण, प्रस्तावित भन्सार गुल्म गौर, चार वटा बोर्डर आउट पोस्ट (बीओपी) र आठ वटा सीमा सुरक्षा पोस्ट परिचालनमा छन्। यति ठूलो सुरक्षा संयन्त्र हुँदाहुँदै पनि तस्करी तथा राजस्व चुहावट पूर्ण रूपमा नियन्त्रण हुन नसकेको भन्दै सीमा सुरक्षा रणनीतिको प्रभावकारितामाथि पुनः बहस सुरु भएको छ।
यसअघि पनि सीमा क्षेत्रमा बढ्दो गुनासा र आचरणसम्बन्धी प्रश्न उठेपछि नेपाल प्रहरी प्रधान कार्यालयले असारको अन्तिम साता रौतहटका विभिन्न युनिटका इन्चार्जसहित ४८ जना प्रहरी कर्मचारीको सरुवा गरेको थियो।
पछिल्लो अडियो प्रकरणले सीमा सुरक्षामा खटिएका निकायको विश्वसनीयता, आन्तरिक अनुगमन प्रणाली र तस्करी नियन्त्रणको प्रभावकारितामाथि नयाँ प्रश्न खडा गरेको छ। अब जारी अनुसन्धानले सार्वजनिक आरोपको सत्यता उजागर गर्ने र दोषी देखिए कानुनी कारबाही हुने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
बौद्धका डीएसपी रोक्का तानिए, तर मुद्दा शाखाका अधिकारीमाथि किन मौनता ? अनुसन्धानको घेरामा उठ्यो प्रश्न
-
आज साउन १८ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
सुरक्षा समितिको निर्णय कागजमै सीमित : सुन्धाराका रात्रिकालीन व्यवसाय राति अबेरसम्म सञ्चालन, प्रहरी भूमिकामाथि प्रश्न
-
सुरक्षा संकटको छायामा रुपन्देही सीमा: तस्करी नियन्त्रणमा प्रहरी नेतृत्वमाथि उठ्यो गम्भीर प्रश्न
-
आज साउन १७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
1.9kViews 15 Shares Share on Facebook Share on Twitter मेष- आज नयाँ कामको सुरुवात गर्न अनुकूल समय छ । व्यवसायमा आम्दानी…





