नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाइएपछि यातायात पूर्ण रूपमा सञ्चालन

चितवन — नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो हटाएपछि सडक दुवैतर्फी रूपमा सञ्चालनमा आएको छ।

सोमबार बिहान सडकको विभिन्न स्थानमा लेदोसहितको पहिरो खस्दा केही समय एकतर्फी रूपमा यातायात प्रभावित भएको थियो।

डिभिजन सडक कार्यालय, चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनखोला, नाम्सी खोला, सिमलताल, १५ किलो र १७ किलो क्षेत्रमा लेदोसहितको पहिरो खसेको थियो।

तुइनखोला, नाम्सी खोला र सिमलताल क्षेत्रमा एकतर्फी सडक अवरुद्ध भएको थियो भने अन्य स्थानमा खसेको लेदो सडक किनारमा थुप्रिएको थियो।

पहिरो हटाएपछि बिहान १० बजेपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको घिमिरेले जानकारी दिए।

तुइनखोलाको पहिरो निर्माण कार्य गरिरहेको कम्पनीले आफ्नै उपकरण प्रयोग गरी हटाएको हो भने अन्य स्थानको पहिरो मुग्लिन र सेतीदोभानमा रहेका उपकरणको सहायताले पन्छाइएको जनाइएको छ।

हाल उक्त सडकखण्डमा सिमसिम पानी परिरहेको र जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न सवारी चालक तथा यात्रुलाई आग्रह गरिएको छ।

Facebook Comments Box
TOP
Shares