विराटनगर खानतलासी विवाद : एसपी कवित कटवालसँग २४ घण्टे स्पष्टीकरण, डीआईजी खनाल उद्योगी–व्यवसायीसँग संवादमा

विराटनगर । विराटनगरका उद्योगी तथा व्यवसायीको घर तथा कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरी गरिएको खानतलासी विवादपछि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालको निर्णय प्रक्रियामाथि प्रदेश प्रहरी नेतृत्वले आन्तरिक समीक्षा अघि बढाएको छ। घटनापछि कोशी प्रदेश प्रहरी कार्यालयले एसपी कटवालसँग २४ घण्टाभित्र नौबुँदे लिखित स्पष्टीकरण मागेको छ भने प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनाल स्वयं उद्योगी–व्यवसायीसँग संवादमा उत्रिएका छन्।

प्रदेश प्रहरी कार्यालयले मंगलबार जारी निर्देशनअनुसार एसपी कटवाललाई प्रहरी परिचालन कुन सूचना र प्रमाणका आधारमा गरिएको थियो, त्यसको विश्वसनीयता कसरी परीक्षण गरियो, ठूलो संख्यामा प्रहरी परिचालन गर्नुको औचित्य के थियो, माथिल्लो निकायको स्वीकृति लिइएको थियो वा थिएन तथा कानुनी प्रक्रिया पूरा गरिएको थियो कि थिएन भन्ने विषयमा स्पष्ट जवाफ पेस गर्न भनिएको छ।

यस्तै, उक्त कारबाहीबाट प्राप्त उपलब्धि, त्यसको नतिजा, उद्योगी–व्यवसायी तथा सर्वसाधारणमा उत्पन्न भएको त्रास र त्यसबाट प्रहरी संगठनको व्यावसायिक छविमा परेको प्रभावबारे समेत विस्तृत स्पष्टीकरण मागिएको छ। प्रहरी स्रोतका अनुसार यी प्रश्नहरूले एसपी कटवालको निर्णय प्रक्रिया र भूमिकामाथि प्रदेश नेतृत्वले गम्भीर समीक्षा थालेको संकेत गरेका छन्।

उता, घटनापछि निजी क्षेत्रमा बढेको असन्तुष्टि कम गर्न डीआईजी शेखर खनाल आफैं सक्रिय बनेका छन्। प्रदेश प्रहरी कार्यालयमा आयोजित अन्तरक्रियामा उनले उद्योगी–व्यवसायीसँग प्रत्यक्ष संवाद गर्दै औद्योगिक सुरक्षा, सम्भावित सुरक्षा चुनौती तथा प्रहरी र निजी क्षेत्रबीचको समन्वय र आपसी विश्वास अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

साउन १८ गते देवनरा समूहका सञ्चालक तथा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको घर र कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरी खानतलासी गरिएपछि प्रहरी कारबाहीको शैलीमाथि उद्योगी–व्यवसायीले कडा असन्तुष्टि जनाएका थिए। पर्याप्त आधार र कानुनी प्रक्रिया बिना शक्ति प्रदर्शन शैलीमा प्रहरी परिचालन गरिएको आरोप लगाउँदै निजी क्षेत्रले विरोध जनाएको थियो।

यस घटनापछि प्रदेश प्रहरी नेतृत्व एकातिर एसपी कटवालको भूमिकाको आन्तरिक समीक्षा गर्दै घटनाको वस्तुनिष्ठ मूल्याङ्कनमा जुटेको छ भने अर्कोतर्फ उद्योगी–व्यवसायीसँग बिग्रिएको सम्बन्ध सुधार गरी प्रहरीप्रतिको विश्वास कायम राख्ने प्रयाससमेत अघि बढाएको देखिएको छ।

Facebook Comments Box
बौद्धका डीएसपी रोक्का तानिए, तर मुद्दा शाखाका अधिकारीमाथि किन मौनता ? अनुसन्धानको घेरामा उठ्यो प्रश्न
२ दिन अगाडि

1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी वृत्त बौद्धका डीएसपी सन्तोष रोक्कालाई एक वर्ष अवधि…

TOP
15 Shares