

हिरासत मृत्यु प्रकरण : तत्कालीन डीएसपी लक्ष्मी खनालसहित प्रहरीमाथि विभागीय कारबाही सिफारिस

बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका कालीकोटका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको मृत्यु प्रकरणमा तत्कालीन कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालसहित हिरासतमा खटिएका प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गर्न सिफारिस गरिएको छ।
गत भदौमा ज्यान मार्ने मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका सिंहको हिरासतमा राखिएको तेस्रो दिन स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको थियो।
घटनापछि मृतकका परिवारले प्रहरी हिरासतमा यातना दिइएका कारण मृत्यु भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका थिए। त्यसपछि लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका तत्कालीन प्रमुख एसएसपी सन्तोष सिंह राठौरको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको थियो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार समितिले अनुसन्धानका क्रममा प्रहरीको लापरबाही तथा कमजोरीका कारण हिरासतमा रहेको व्यक्तिको मृत्यु भएको निष्कर्ष निकालेको छ। सोही आधारमा तत्कालीन डीएसपी खनालसहित ड्युटीमा रहेका प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गर्न सिफारिस गरिएको हो।
एक प्रहरी अधिकारीका अनुसार हिरासतमा राखिएका व्यक्तिको सुरक्षा सुनिश्चित गर्ने पूर्ण जिम्मेवारी प्रहरीकै हुने भएकाले हिरासतभित्र भएको मृत्यु अत्यन्त गम्भीर विषय मानिन्छ।
छानबिन प्रतिवेदन लुम्बिनी प्रदेश प्रहरी कार्यालयमार्फत प्रहरी प्रधान कार्यालय पठाइसकिएको स्रोतले जनाएको छ। प्रतिवेदनका आधारमा प्रहरी प्रधान कार्यालयको कानुन शाखाले डीएसपी खनालविरुद्ध विभागीय कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ।
सिंहको मृत्यु प्रकरण सार्वजनिक भएपछि डीएसपी खनाललाई गत असोजमै इलाका प्रहरी कार्यालय कोहलपुरबाट सरुवा गरी अपराध अनुसन्धान विद्यालयअन्तर्गत प्रशिक्षण व्यवस्थापन शाखा, महाराजगञ्ज काठमाडौंमा पठाइएको थियो।
कोहलपुरको पहिलो महिला कार्यालय प्रमुखका रूपमा जिम्मेवारी सम्हालेकी डीएसपी खनालको कार्यकाल हिरासत मृत्यु प्रकरणपछि विवादमा परेको थियो। घटना भएको करिब एक वर्षपछि सार्वजनिक भएको छानबिन प्रतिवेदनले प्रहरीको लापरबाही औंल्याउँदै विभागीय कारबाहीको सिफारिस गरेको छ।
समाज
थप सामाग्री-
कानुनी व्यवस्था र विभागीय पत्र बेवास्ता, जलजलाकी वडा सचिव अर्यालको विवादास्पद निर्णयले अन्तरलिंगी मायाले भोगिन् प्रशासनिक सास्ती
-
रिक्त एसएसपी पदका लागि चार अधिकृतबीच प्रतिस्पर्धा, वरिष्ठता र कार्यसम्पादन मुख्य आधार बन्ने
-
स्वपहिचान (स्वअनुभूत लैङ्गिक पहिचान/ब्रेन जेण्डर) का आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
-
बारा सीमामा तस्करी संरक्षणको आरोप : बिओपी बरैनियामा ‘घुमुवा’ परिचालन गरिएको दाबी, संगठनभित्रै चर्चा
-
आज साउन १९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
बौद्धका डीएसपी रोक्का तानिए, तर मुद्दा शाखाका अधिकारीमाथि किन मौनता ? अनुसन्धानको घेरामा उठ्यो प्रश्न
२ दिन अगाडि
1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी वृत्त बौद्धका डीएसपी सन्तोष रोक्कालाई एक वर्ष अवधि…





