

मन्त्रीलाई नागरिकप्रति जवाफदेही बनाउन घण्टी घरको नयाँ अभियान, भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई नागरिकप्रति थप जवाफदेही, पारदर्शी र उत्तरदायी बनाउन आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
रास्वपाका अनुसार पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा हरेक मन्त्रीलाई महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा सहभागी गराई दुई घण्टे कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रममा मन्त्रीहरूले प्रत्यक्ष रूपमा नागरिकका गुनासा, समस्या, अपेक्षा र सुझाव सुन्नुका साथै पार्टी नेतृत्व र सांसदहरूसँग समसामयिक तथा नीतिगत विषयमा छलफल गर्नेछन्।
रास्वपा सहमहामन्त्री असिम शाहले विज्ञप्तिमार्फत लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु रहेको बताएका छन्।
उनका अनुसार कार्यक्रममार्फत जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्ने लक्ष्य राखिएको छ। मन्त्रीहरूलाई महिनामा कम्तीमा एकपटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित गराई नागरिक तथा पार्टीपंक्तिसँग प्रत्यक्ष संवादमा जोडिने र त्यसबाट नागरिकका आवाजलाई राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउने पार्टीको विश्वास छ।
दुई चरणमा कार्यक्रम
रास्वपाले ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमलाई एकै दिन दुई चरणमा सञ्चालन गर्ने जनाएको छ।
पहिलो चरणमा ‘नागरिक संवाद’ हुनेछ। साँझ ५ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने उक्त चरण आमनागरिकका लागि खुला रहनेछ। यस अवधिमा सम्बन्धित मन्त्रीले सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, गुनासा, अपेक्षा र सुझाव सुन्नेछन्।
त्यसपछि साँझ ६ बजेदेखि दोस्रो चरणअन्तर्गत ‘नेतृत्व संवाद’ सञ्चालन हुनेछ। यसमा सम्बन्धित मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूबीच संयुक्त बैठक हुनेछ।
नागरिक संवादका क्रममा प्राप्त सुझाव तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयलाई आधार बनाएर नेतृत्व संवादमा सघन छलफल गरिने रास्वपाले जनाएको छ।
नागरिकका मुद्दादेखि नीति निर्माणसम्म जोड्ने लक्ष्य
रास्वपाले कार्यक्रम सञ्चालनका चार प्रमुख उद्देश्यसमेत सार्वजनिक गरेको छ।
पहिलो, नागरिक, सरकारका मन्त्री, व्यवस्थापिका अर्थात् सांसद र पार्टी संगठनबीचको समन्वयलाई प्रभावकारी बनाउँदै नागरिकका मुद्दा सम्बोधन गर्न साझा रणनीति तय गर्ने।
दोस्रो, सरकारमा रहेका मन्त्रीहरूलाई प्रत्यक्ष रूपमा आमनागरिकप्रति जवाफदेही बनाउने।
तेस्रो, नागरिकका वास्तविक समस्या र आवश्यकतालाई नजिकबाट बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने।
चौथो, नागरिक, पार्टीको सांगठनिक तह, संसदीय दल तथा सरकारमा रहेका पार्टीका प्रतिनिधिबीच प्रभावकारी सूचना प्रवाह र कार्ययोजनाको आदान–प्रदान सुनिश्चित गर्ने।
रास्वपाले नागरिकका गुनासा र सुझावलाई केवल सुनुवाइमा सीमित नराखी त्यसलाई नीति निर्माण र सरकारी कामकारबाहीसँग जोड्ने उद्देश्यले कार्यक्रम अघि बढाउन लागेको जनाएको छ। पार्टीका अनुसार नियमित प्रत्यक्ष संवादले सरकारमा रहेका आफ्ना मन्त्रीलाई जनतासँग जोड्नुका साथै पार्टी, संसद् र सरकारबीचको समन्वयलाई समेत थप प्रभावकारी बनाउने लक्ष्य लिएको बुझिएको छ।
समाज
थप सामाग्री-
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, वर्षामै लामबद्ध भएर दर्शन
-
चुनौतीका बीच आईजीपी दानबहादुर कार्कीको दृढ नेतृत्व : प्रहरी संगठन सुधारको अभियानमा अविचलित कार्की
-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
१ दिन अगाडि
1.4kViews 15 Shares Share on Facebook Share on Twitter मेष मनले चाहेको काममा समय दिन पाउनुहुनेछ। आर्थिक पक्ष सुधार गर्ने…





