रसुवा बाढी : १ हजार ३१३ जनाको जीवित उद्धार, ३ हजार ७१ अझै सम्पर्कविहीन

रसुवा । नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण बाढी र ल्हेन्दे खोलाको बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ। विपद्मा परेका हालसम्म १ हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने ३ हजार ७१ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढी र पहिरोमा परेका १ हजार २२७ नेपाली र ८६ विदेशी पर्यटकको सुरक्षाकर्मी तथा स्थानीयको सक्रियतामा उद्धार गरिएको हो।

गोसाइँकुण्ड क्षेत्रमा अलपत्र परेका तथा रोकिएका १४५ तीर्थयात्री र स्थानीयलाई हेलिकप्टरमार्फत नुवाकोट तथा काठमाडौँतर्फ सुरक्षित स्थानान्तरण गरिएको छ। सडक सञ्जाल विच्छेद भएका तथा दुर्गम क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन गरिएको छ।

विपद्पछि जिल्लामा ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्। श्रीनाथ गण तथा ब्राबल ब्यारेकअन्तर्गतका २७ नेपाली सेना, २८ नेपाल प्रहरी र १३ सशस्त्र प्रहरी अझै सम्पर्कमा आएका छैनन्। यस्तै ७९ सरकारी कर्मचारी र २६ बैंक तथा वित्तीय संस्थाका कर्मचारी पनि सम्पर्कविहीन रहेको अधिकारीले बताए।

त्यसैगरी रसुवाका १ हजार ३७०, अन्य जिल्लाका १ हजार २६२ र २६६ विदेशी पर्यटक सम्पर्कविहीन रहेको प्रशासनको विवरण छ।

१६३ शव फेला, सनाखत प्रक्रिया जारी

बाढीपहिरोका क्रममा विभिन्न स्थानमा १६३ शव फेला परेका छन्। तीमध्ये पाँच जनाको सनाखत भइसकेको र बाँकी शवको पहिचान तथा डीएनए परीक्षणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको सहायक प्रजिअ अधिकारीले बताए।

सनाखत भएका मृतकमा उत्तरगया–५ का जनक आचार्य, गङ्गादेवी श्रेष्ठ, पुदुली तामाङ, आशवीर तामाङ र आशिष बानियाँ तथा गोसाइँकुण्ड–६ की छिरिङ ग्याल्मो तामाङ रहेका छन्।

सडक, पुल र जलविद्युत् आयोजनामा ठूलो क्षति

बाढीपहिरोले जिल्लाको भौतिक संरचनामा समेत व्यापक क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार १ हजार ५०० निजी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

यस्तै २८ सरकारी तथा सार्वजनिक निकाय, आठ सामुदायिक विद्यालय, तीन निजी विद्यालय र १४ बैंकका भवनमा क्षति पुगेको छ।

जिल्लाको यातायातको मेरुदण्ड मानिएको ४१ किलोमिटर राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएको छ। बाढीले छ पक्की मोटरेबल पुल, आठ ट्रस तथा बेलीब्रिज, एक आर्च पुल र १० झोलुङ्गे पुल बगाएको वा क्षति पुर्‍याएको छ। जिल्लाका आठ जलविद्युत् आयोजनामा समेत ठूलो क्षति भएको प्रशासनले जनाएको छ।

७ हजारभन्दा बढी विस्थापित

बाढीपहिरोका कारण थातथलोबाट विस्थापित भएका ७ हजार ३३ नागरिकलाई जिल्लाका १२ वटा सुरक्षित आश्रयस्थलमा राखिएको छ। धुन्चेस्थित सिटी सेन्टर, कोमिन श्यामे वाङ्फेल माध्यमिक विद्यालय र गणेश आधारभूत विद्यालयलगायत स्थानमा आश्रित नागरिकका लागि गाँसबासको व्यवस्था मिलाइएको छ।

प्रभावित क्षेत्रमा हालसम्म १३६ पटक राहत सामग्री वितरण गरिएको छ। विपद्को कठिन परिस्थितिका बाबजुद जिल्लाको ८३ प्रतिशत जनसंख्यामा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ। नेपाल टेलिकमको सञ्चार सेवा पनि सम्पूर्ण क्षेत्रमा सञ्चालनमा आएकाले उद्धार, राहत तथा समन्वयमा सहजता भएको प्रशासनले जनाएको छ।

Facebook Comments Box
TOP
15 Shares