त्रिशूली करिडोरमा बाढीको ठूलो क्षति, ५५ किमि सडक र ३५ पुल पुनर्निर्माणको चुनौती

काठमाडौँ । चीनतर्फबाट आएको भीषण बाढीका कारण त्रिशूली नदी र आसपासका क्षेत्रमा सडक तथा पुल पूर्वाधारमा ठूलो क्षति पुगेको छ। सडक विभागका अनुसार धादिङ, नुवाकोट र रसुवामा करिब ५५ किलोमिटर सडक र ३५ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। प्रारम्भिक अनुमानअनुसार उक्त क्षतिको लागत करिब ३० अर्ब रुपैयाँ रहेको छ।

बाढीका कारण अवरुद्ध राजमार्ग तथा रणनीतिक सडक तत्काल सञ्चालनमा ल्याउन सरकारले आपत्कालीन पुनर्निर्माण, वैकल्पिक ट्रयाक निर्माण र बेलिब्रिज जडानलाई तीव्रता दिएको छ। क्षतिग्रस्त पुलका स्थानमा अस्थायी रूपमा बेलिब्रिज राखेर यातायात सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ।

नुवाकोटको विदुरस्थित देवीघाटमा बाढीले पुल बगाएपछि यातायात ठप्प बनेको क्षेत्रमा नेपाली सेनाले बेलिब्रिज जडानको काम सुरु गरेको छ। सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार पुलको सिभिल संरचना निर्माण विभागले गरिरहेको छ भने पुल जडानको प्राविधिक जिम्मेवारी नेपाली सेनाले सम्हालेको छ।

देवीघाटस्थित तादी खोलामा ६० मिटर लामो एक्रो ब्रिज जडान सुरु गरिएको सेनाले जनाएको छ। भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले करिब ५५ मिटर लामो पक्की पुल बगाएपछि सोही पुलको अबुटमेन्टमा नयाँ एक्रो ब्रिज जडान गर्न लागिएको हो। पुल तयार भएपछि रसुवातर्फको यातायात पहुँच सहज हुने अपेक्षा गरिएको छ।

यस्तै त्रिशूली बजार र बेत्रावतीमा पनि बेलिब्रिज जडान गर्ने तयारी भइरहेको छ। ती स्थानमा करिब ४८ मिटर लम्बाइका पुल आवश्यक पर्ने देखिएको विभागले जनाएको छ। क्षतिग्रस्त ३५ पुलमध्ये तत्काल तीन स्थानमा बेलिब्रिज जडान गरी गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक अस्थायी रूपमा सञ्चालनमा ल्याउने सरकारको तयारी छ।

स्याफ्रुबेँसीमा ७५ मिटरको बेलिब्रिज आवश्यक

रसुवाको स्याफ्रुबेँसीमा पनि बाढीले पुल बगाएपछि करिब ७५ मिटर लामो बेलिब्रिज आवश्यक पर्ने देखिएको छ। विभाग र सेनासँग बेलिब्रिज उपलब्ध भए पनि तल्लो खण्डको सडक अवरुद्ध रहेकाले सामग्री क्षतिग्रस्त स्थानसम्म पुर्‍याउन समस्या भइरहेको छ।

चीन सरकारले कोराला नाकामा बेलिब्रिजका सामग्री उपलब्ध गराएको छ। ती सामग्री नेपाल ल्याएर आवश्यकता हेरी रसुवागढी वा अन्य क्षतिग्रस्त स्थानमा जडान गर्ने तयारी भइरहेको विभागले जनाएको छ।

प्रवक्ता न्यौपानेका अनुसार अहिलेको मुख्य चुनौती बेलिब्रिज जडान गर्ने स्थानसम्म सामग्री पुर्‍याउन सक्ने गरी सडक खोल्नु हो। सडक खुल्नासाथ बेलिब्रिज जडानको कामले गति लिनेछ।

स्थानीयको अवरोधले वैकल्पिक सडक निर्माणमा ढिलाइ

बाढीले पुरानो सडकमा ३ देखि ४ मिटरसम्म लेदो र गेग्रान थुपारेकाले तत्काल सोही सडकबाट यातायात सञ्चालन गर्न कठिन भएको छ। त्यसैले बेत्रावतीसम्म वैकल्पिक ट्रयाक खोलेर यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।

तर विदुर नगरपालिका–१० मा स्थानीयको अवरोधका कारण काममा केही ढिलाइ भएको विभागले जनाएको छ। खेतको बाटो प्रयोग गरेर तत्काल ट्रयाक खोल्ने प्रयास गरिए पनि स्थानीयले मुआब्जा नपाएसम्म काम गर्न नदिने अडान राखेका छन्।

विवाद समाधान भए दुई दिनभित्र बेत्रावतीसम्म सडक जोड्ने विभागको योजना छ। बेत्रावतीसम्म सडक खुलेपछि धुन्चेसम्मको पहुँचसमेत सहज हुने अपेक्षा गरिएको छ।

कृष्णभीरमा नयाँ ट्रयाक, परेवाभिरमा यातायात बन्द

त्रिशूलीमा आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक कटान गरेपछि भित्तो काटेर नयाँ ट्रयाक खोल्ने काम भइरहेको छ। नेपाल जियोटेक्निकल सोसाइटीको प्राविधिक परामर्शमा ५.५ देखि ८ मिटरसम्म चौडाइको नयाँ ट्रयाक निर्माण भइरहेको विभागले जनाएको छ।

हालसम्म २५२ मिटर ट्रयाक खन्ने काम सम्पन्न भइसकेको छ। यसबाट मेसिन आवतजावत गर्न सक्ने अस्थायी मार्ग खुलेको र केही दिनभित्र आवश्यक मर्मत पूरा गरी सवारी सञ्चालनमा ल्याउने विभागको तयारी छ।

यसैबीच बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर खण्डमा आज सवारी आवागमन पूर्ण रूपमा बन्द गरी मर्मतसम्भारको काम भइरहेको सडक विभागले जनाएको छ।

बाढीबाट क्षतिग्रस्त सडक र पुलका कारण त्रिशूली करिडोर हुँदै रसुवासम्मको यातायात सञ्जाल पुनः सञ्चालनमा ल्याउन सरकारसामु ठूलो चुनौती देखिएको छ। सरकारले भने वैकल्पिक सडक, एक्रो ब्रिज र बेलिब्रिजमार्फत चरणबद्ध रूपमा सडक सञ्जाल पुनः सञ्चालन गर्ने तयारी अघि बढाएको छ।

Facebook Comments Box
TOP
15 Shares