

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र प्रहरी इन्स्पेक्टरसहित ८ जना पक्राउ

जनकपुरधाम । वीरगञ्जस्थित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित आठ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भदौ १२ गते राति करिब १०ः३० बजे वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचना पाएपछि प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरीले क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा चार जना र नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा थप चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय गाउँपालिका अध्यक्ष जसवन्त यादव, वीरगञ्ज महानगरपालिका–११ का ३० वर्षीय चन्दन सहनी, सोही वडाका ३९ वर्षीय ओमप्रकाश बैठा र स्याङ्जाको हरिनास गाउँपालिका–९ का ३६ वर्षीय प्रहरी निरीक्षक प्रदीप पौडेल रहेका छन्।
अध्यक्ष यादव नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् भने पौडेल पोखरिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रहेको प्रहरी स्रोतले जनाएको छ।
त्यस्तै, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साहलाई पनि प्रहरीले पक्राउ गरेको छ।
गाउँपालिकाको सरकारी गाडी पनि क्यासिनो परिसरमा
प्रकरणमा सखुवाप्रसौनी गाउँपालिकाको सरकारी सवारीसाधनसमेत क्यासिनो परिसरबाट नियन्त्रणमा लिइएको छ। गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको स्कर्पियो क्यासिनो परिसरमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले क्यासिनोबाट हार्डडिक्स, विभिन्न कागजात, कम्प्युटर तथा सीसीटीभीको डीभीआर बक्ससमेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
‘उत्कृष्ट प्रहरी’ पुरस्कार पाएका इन्स्पेक्टर क्यासिनो प्रकरणमा
प्रहरी निरीक्षक पौडेल यसअघि निर्वाचनमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रदेश प्रहरीबाट नगदसहित पुरस्कृत भएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पौडेल पक्राउ परेको पुष्टि गर्दै २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्कृष्ट काम गरेको भन्दै उनलाई प्रदेश प्रहरीले पुरस्कृत गरेको जानकारी दिएका छन्।
प्रहरी स्रोतका अनुसार पौडेल शनिबार राति ड्युटीमा नरही गाउँपालिका अध्यक्ष यादव र केही स्थानीय व्यवसायीसहित क्यासिनो पुगेका थिए।
प्रहरीकै संरक्षणमा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने गरिएको सूचना पाएपछि प्रहरी उपरीक्षक भट्टराई आफैं क्यासिनो पुगेका थिए। त्यसक्रममा आठ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पौडेल गत वर्ष असोज अन्तिम साता प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागबाट वीरगञ्ज सरुवा भएका थिए।
प्रहरीले पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। घटनामा सरकारी सवारीसाधन क्यासिनो परिसरमा कसरी पुग्यो, प्रहरी निरीक्षकसहितका व्यक्तिको क्यासिनोमा उपस्थितिको उद्देश्य के थियो तथा नेपाली नागरिकलाई क्यासिनो प्रवेश गराउने कार्यमा कस–कसको संलग्नता थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री
रसुवाको बाढीमा देशको ध्यान, बिर्तामा घुमुवा प्रहरीमाथि तस्करी संरक्षण र ‘असुली’को आरोप
१ दिन अगाडि
1.2kViews 15 Shares Share on Facebook Share on Twitter वीरगन्ज । देशको ध्यान रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी, उद्धार…





