

आफैंले बाढीको विनाश भोगेका सार्दिखोलावासीले भोटेकोशी बाढीपीडितलाई झण्डै ८ लाख सहयोग

कास्की । आफूले १४ वर्षअघि सेती नदीको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलावासीले रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु ७ लाख ९३ हजार ७७५ सहयोग गरेका छन् ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले वडा कार्यालयको पहलमा सञ्चालन गरिएको राहत सङ्कलन अभियानबाट उक्त रकम जुटाइएको हो । सङ्कलित रकम बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
सार्दिखोलावासीका लागि भोटेकोशीको बाढी केवल अर्को ठाउँमा भएको विपद् मात्र थिएन । उनीहरूले १४ वर्षअघि आफ्नै गाउँमा सेती नदीको उर्लंदो भेलले मच्चाएको विनाश भोगिसकेका छन् ।
विसं २०६९ वैशाख २३ गते शनिबार अन्नपूर्ण चौथो हिमालबाट खसेको हिमपहिरोका कारण सेती नदीमा आएको अप्रत्याशित बाढीले सार्दिखोलाको खारपानी बजारलाई क्षणभरमै बगरमा परिणत गरेको थियो । सार्वजनिक बिदाको दिन भएकाले खारपानी बजारमा चहलपहल थियो भने वनभोजका लागि पुगेकाहरूको समेत बाक्लो उपस्थिति थियो ।
त्यो विनाशकारी बाढीमा स्थानीयवासी तथा पर्यटक गरी ७० जनाभन्दा बढीले ज्यान गुमाएका थिए । बाढीले खारपानी बजारका घर तथा अन्य भौतिक संरचनासँगै झोलुङ्गे पुल र प्रसिद्ध तातोपानी कुण्डसमेत बगाएको थियो । बाढीको चपेटामा परेको खारपानी बजार अझै पूर्ण रूपमा पुनःस्थापित हुन सकेको छैन ।
त्यही पुरानो पीडा सम्झिँदै सार्दिखोलावासीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि आफ्नो क्षमताअनुसार सहयोग जुटाएका हुन् ।
वडाध्यक्ष गणेश आचार्यका अनुसार राहत सङ्कलन अभियानमा १७ वटा टोल विकास समिति, आमासमूह, चेलीबेटी समूह, विभिन्न सङ्घसंस्था तथा स्थानीय नागरिक सहभागी भएका थिए । सबै नागरिकसम्म पुगेर सहयोग सङ्कलन गर्न टोल विकास संस्थालाई परिचालन गरिएको थियो ।
“हामीले बाढीको पीडा आफ्नै आँखाले देखेका र भोगेका छौँ । त्यसैले भोटेकोशीसहित विभिन्न जिल्लामा विपद्मा परेका नागरिकको पीडा र दुःख यहाँका नागरिकले बुझेका छन्,” वडाध्यक्ष आचार्यले भने, “आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्नुपर्छ भन्ने मानवीय भावनाका साथ राहत सङ्कलन अभियान सञ्चालन गर्यौँ । त्यसमा सबै घरपरिवार सहभागी हुनुभयो ।”
विगतमा आफ्नै समुदायले विपद्को पीडा भोगेकाले अहिले विपद्मा परेका नागरिकको साथमा उभिनु मानवीय दायित्व भएको उनले बताए ।
राहत सङ्कलनमा पारदर्शिता कायम गर्न वडा कार्यालयले सरोकारवालाको उपस्थितिमा सङ्कलित रकम सार्वजनिक गरेको थियो । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द आचार्य र कोषाध्यक्ष विपुल शर्मालाई हस्तान्तरण गरिएको थियो । सहकारी संस्थाले रकम कोषमा जम्मा गरिसकेको जनाएको छ ।
राहत अभियानमा सहयोग गर्ने व्यक्ति, टोल विकास समिति, आमासमूह, चेलीबेटी समूह तथा विभिन्न सङ्घसंस्थाको नाम र सहयोग रकमको विवरण वडा कार्यालयले अभिलेखमा राख्ने जनाएको छ ।
सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द आचार्यले सार्दिखोला र भोटेकोशीबीच भौगोलिक दूरी टाढा भए पनि विपद्को पीडा समान रहेको बताए ।
“यो सहयोग अहिलेको विपद्का लागि मात्र होइन, समुदायले विपद्का बेला कसरी एकअर्काको साथमा उभिनुपर्छ भन्ने सन्देशसमेत हो,” उनले भने, “भोलिका दिनमा देशमा जहाँसुकै विपद् पर्दा पनि समुदाय मिलेर सहयोग गर्नुपर्छ भन्ने प्रेरणा यसले नयाँ पुस्तालाई दिनेछ ।”
आफूले भोगेको पीडालाई अरूको दुःख बुझ्ने आधार बनाउँदै सार्दिखोलावासीले गरेको यो सहयोगले विपद्का बेला मानवीय संवेदना, सामुदायिक एकता र आपसी सहयोगको भावना भौगोलिक सीमाभन्दा माथि हुने सन्देश दिएको छ ।
समाज
थप सामाग्री-
विपक्षी दलको बैठकमा भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनाबारे छलफल
-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
१ दिन अगाडि
1.4kViews 15 Shares Share on Facebook Share on Twitter मेष- आज साझेदारीमा गरिएका कामबाट लाभ मिल्ने सम्भावना छ। नयाँ कामको योजना…





