बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न देउवा आज नुवाकोट जाँदै

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न आज नुवाकोट जाँदैछन् ।
बाढीपीडितका लागि राहत सामग्रीसहित देउवा बिहान ९ बजे स्थलमार्ग हुँदै काठमाडौंँबाट नुवाकोट प्रस्थान गर्ने कार्यक्रम छ ।
नुवाकोट पुगेपछि देउवाले बिहान ११ बजे नेपाली कांग्रेस नुवाकोटको पार्टी कार्यालयमा नेता तथा कार्यकर्तासँग भेटघाट गर्नेछन् । भेटका क्रममा उनले जिल्लामा बाढीबाट भएको क्षति, प्रभावितको अवस्था तथा राहत र उद्धारका विषयमा जानकारी लिनेछन् ।
त्यसपछि देउवा विदुर नगरपालिका–स्थित ढुङ्गे पुगेर बाढीले पुर्‍याएको क्षतिको स्थलगत अवलोकन गर्नेछन् । ढुङ्गेको निरीक्षणपछि उनी देवीघाट पुगेर बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ ।
स्थलगत निरीक्षणका क्रममा देउवाले बाढीपीडित तथा स्थानीयसँग समेत भेटघाट गर्ने बताइएको छ ।
नुवाकोटको स्थलगत निरीक्षण सम्पन्न गरेपछि देउवा आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

Facebook Comments Box
TOP
15 Shares