ब्रिक्स राष्ट्रद्वारा मध्यपूर्व तनावप्रति चिन्ता, विश्व व्यापार र ऊर्जा प्रवाह सहज बनाउन सामूहिक प्रयास गर्ने प्रतिबद्धता

काठमाडौं । ब्रिक्स राष्ट्रहरूले मध्यपूर्वमा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयम अपनाउन आह्वान गरेका छन्। साथै, विश्वव्यापी व्यापार, आपूर्ति शृङ्खला र ऊर्जा प्रवाहमा अवरोध आउन नदिन सामूहिक रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

भारतको राजधानी नयाँ दिल्लीमा जारी दुईदिने ब्रिक्स शिखर सम्मेलनले सर्वसम्मतिले संयुक्त घोषणापत्र पारित गर्दै यस्तो प्रतिबद्धता जनाएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भइरहेको सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेश्कियानलगायत सदस्य राष्ट्रका नेताहरू सहभागी छन्।

संयुक्त घोषणापत्रमा ब्रिक्स राष्ट्रहरूले आतंकवादको कडा निन्दा गर्दै आतंककारीलाई आश्रय, सहयोग वा वित्तीय स्रोत उपलब्ध गराउनेहरूमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। आतंकवादलाई कुनै धर्म, राष्ट्रियता वा समुदायसँग जोड्न नहुनेमा समेत उनीहरूले जोड दिएका छन्।

ब्रिक्स राष्ट्रहरूले २२ अप्रिल २०२५ मा भारतको पहलगाममा भएको आतंकवादी हमलाको समेत निन्दा गरेका छन्। उक्त हमलामा २६ जनाको मृत्यु भएको थियो।

त्यस्तै, आतंकवादी गतिविधिमा पुग्ने वित्तीय स्रोत रोक्ने तथा आतंककारीलाई सुरक्षित आश्रय दिनेहरूमाथि संयुक्त रूपमा कारबाही गर्ने सहमति भएको छ। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आतंकवादसम्बन्धी प्रस्तावित महासन्धि चाँडै पारित गर्न पनि ब्रिक्सले आग्रह गरेको छ।

घोषणापत्रमा ब्रिक्सका आधारभूत सिद्धान्तका रूपमा पारस्परिक सम्मान, सार्वभौम समानता, एकता र सहमतिमा जोड दिइएको छ।

ब्रिक्स राष्ट्रहरूले एकपक्षीय भन्सार शुल्क तथा व्यापार प्रतिबन्धप्रति समेत चिन्ता व्यक्त गर्दै त्यस्ता उपाय विश्व व्यापार संगठनका नियमअनुकूल हुनुपर्ने बताएका छन्। विश्व व्यापार, आपूर्ति शृङ्खला तथा ऊर्जा प्रवाहमा अवरोध आउन नदिन सामूहिक प्रयास आवश्यक रहेको उनीहरूको निष्कर्ष छ।

बैठकमा आणविक हतियारको प्रयोगको जोखिम तथा बढ्दो विश्वव्यापी तनावप्रति समेत चिन्ता व्यक्त गरिएको छ।

यसैबीच, चिनियाँ राष्ट्रपति सी जिनपिङ सात वर्षपछि भारत पुगेका छन्। गलवान उपत्यकामा भएको झडपपछि उनको यो पहिलो भारत भ्रमण हो। ब्रिक्स सम्मेलनमा सहभागी भएपछि सीले आइतबार साँझ भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।

यसअघि शुक्रबार मोदीले रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए। भेटमा भारत–रुस सम्बन्धलाई थप गहिरो बनाउने विषयमा छलफल भएको थियो।

मोदीले इरानी राष्ट्रपति पेजेश्कियानसँग पनि भेटवार्ता गरेका थिए। भेटमा होर्मुज जलमार्गको स्वतन्त्रता कायम राख्ने तथा उक्त मार्गबाट आवतजावत गर्ने जहाज र चालक दलको सुरक्षालाई प्राथमिकता दिने विषयमा छलफल भएको थियो।

Facebook Comments Box
TOP
15 Shares