
गणेशमान सिंहको २९औँ स्मृति दिवस आज, कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम गर्दै

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
सिंहको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरेका छन्। नेपाली राजनीतिमा त्याग, साहस र निष्ठाको उदाहरण प्रस्तुत गरेका सिंहलाई प्रजातन्त्र स्थापनाका लागि जीवनभर संघर्ष गर्ने नेताका रूपमा स्मरण गरिँदै आएको छ।
२०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्ध भएको जनआन्दोलनको नेतृत्व गर्दै प्रजातन्त्र पुनःस्थापनामा निर्णायक भूमिका निर्वाह गरेका सिंहले आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रबाट प्रधानमन्त्री बन्न गरिएको आग्रहसमेत अस्वीकार गरेका थिए। उनले प्रधानमन्त्रीका लागि आफ्ना राजनीतिक सहकर्मी कृष्णप्रसाद भट्टराईको नाम प्रस्ताव गरेका थिए।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो।
राणाशासनविरुद्धको आन्दोलनमा सक्रिय सिंह प्रजा परिषद्को सदस्यसमेत बनेका थिए। विसं २००७ अघि भद्रगोल जेल तोडेर भाग्न सफल भएपछि भारत पुगेका उनले त्यहाँ नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विस्तार गरेका थिए।
विसं २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसको नेतृत्व गरेका सिंह २००७ सालको क्रान्तिका प्रमुख अगुवामध्ये एक थिए। उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्षको नेतृत्व गर्दै राणाशासन अन्त्य र प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
विसं २०१५ सालको पहिलो आमनिर्वाचनपछि बिपी कोइरालाको नेतृत्वमा बनेको सरकारमा सिंह वरिष्ठ मन्त्री बनेका थिए। तर, २०१७ सालमा राजा महेन्द्रले निर्वाचित सरकार अपदस्थ गरी पञ्चायती व्यवस्था लागू गरेपछि सिंहले लामो काराबास जीवन बिताउनुपर्यो। उनले सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा गरी करिब आठ वर्ष जेल जीवन बिताएका थिए।
विसं २०२५ सालमा बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि सिंह प्रवासमा रहेर प्रजातान्त्रिक आन्दोलनका लागि राजनीतिक संगठन विस्तारमा सक्रिय भए।
विसं २०३३ सालमा बिपी कोइरालासँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका सिंह त्यसपछि पञ्चायती व्यवस्थाविरुद्धको लोकतान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय रहे।
त्याग र संघर्षलाई राजनीतिक जीवनको आधार बनाएका सिंहले सत्ता र पदभन्दा लोकतान्त्रिक मूल्य, सहमति र राष्ट्रिय हितलाई प्राथमिकता दिएको भन्दै नेपाली कांग्रेसले उनलाई प्रजातान्त्रिक आन्दोलनको प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गर्दै आएको छ।
समाज
थप सामाग्री
आज असोज १ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
1.3kViews 15 Shares Share on Facebook Share on Twitter मेष : दीर्घकालीन लाभ हुने कार्य प्रारम्भ गर्न तथा नयाँ सम्झौता…





