राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकार तथा रङमा नयाँ विशेषतासहितको ५० रुपैयाँ दरको नोट प्रचलनमा ल्याएको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार संकेत नम्बर ट २४ ०००००१ देखि ण ७० ९९९९९९ सम्मका नयाँ नोट चलनचल्तीमा ल्याइएको हो।

नयाँ नोटको अगाडिको भागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश राखिएको छ।

नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ। पानीछापमा ‘५०’ अंकसमेत राखिएको छ। नोटको तल्लो खण्डमा वि.सं. २०८२ को सिरिज उल्लेख गरिएको छ भने गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।

नोटमा १.२ मिलिमिटर चौडा कागजमा बुनिएको सुरक्षण धागो राखिएको छ। प्रकाशतर्फ पारेर हेर्दा उक्त धागो पूर्ण रूपमा देखिने र त्यसमा ‘NRB’ लेखिएको राष्ट्र बैंकले जनाएको छ।

नोटको पछाडिको मध्य भागमा हिउँ चितुवाको चित्र राखिएको छ भने त्यसको माथि ‘NEPAL RASTRA BANK’ लेखिएको छ। तल्लो भागमा ‘RUPEES FIFTY’ र ‘2025 A.D.’ उल्लेख गरिएको छ।

यसअघि राष्ट्र बैंकले २०७७ असार २२ गतेदेखि ५० रुपैयाँ दरको सिरिज २०१९ का नोट चलनचल्तीमा ल्याउने सूचना जारी गरेको थियो। त्यसबेला ज ८९ ०००००१ देखि ट ३३ ९९९९९९ सम्मका नोट जारी गर्ने भनिए पनि ज ८९ ००००००१ देखि ट २३ ९००००० सम्मका नोट मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।

Facebook Comments Box
TOP
15 Shares