२२ महिनापछि सशस्त्र प्रहरी सईको मृत्यु घटनाका मुख्य अभियुक्त पक्राउ

सिराहा । ड्युटीमा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवको मृत्यु भएको घटनाका मुख्य अभियुक्तलाई प्रहरीले करिब २२ महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारस्थित मधुबनी जिल्ला ललमनियाँ थाना क्षेत्रका ३७ वर्षीय मोहम्मद कुर्बान मन्सुरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकका अनुसार मन्सुरीलाई नेपाल–भारत सीमाक्षेत्रअन्तर्गत बरियारपट्टी गाउँपालिका–१ कचनारी नजिकबाट पक्राउ गरिएको हो । उनी घटनामा प्रयोग भएको टाटा सफारी गाडीका धनी तथा चालक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २०८१ मङ्सिर १६ गते बिहान करिब ३ः१० बजे कचनारीस्थित बीओपीबाट सई यादवको कमाण्डमा पाँच सदस्यीय गस्ती टोली सीमाक्षेत्रमा परिचालन भएको थियो । भारततर्फ ठूलो मात्रामा मदिरा तस्करी भइरहेको सूचनाका आधारमा गस्ती टोलीले शङ्कास्पद गाडी रोक्न खोज्दा गाडीले ड्युटीमा रहेका सई यादवलाई ठक्कर दिएको थियो । गम्भीर घाइते यादवको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका मन्सुरीको प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार २०८३ असोज ३ गते साँझ करिब ७ः१० बजे उनलाई पक्राउ गर्न खोज्दा मन्सुरीसहित तीन जनाले प्रहरी टोलीतर्फ एक राउन्ड गोली प्रहार गरेका थिए ।

प्रहरीले जवाफी कारबाहीमा तीन राउन्ड गोली चलाएको जनाएको छ । त्यस क्रममा मन्सुरीको बायाँ हातको कुहिना र दायाँ खुट्टाको घुँडामा गोली लागेको थियो । घाइते अवस्थामा उनलाई नियन्त्रणमा लिएर उपचारका लागि प्रादेशिक अस्पताल सिराहामा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मन्सुरीमाथि ड्युटीमा रहेका सशस्त्र प्रहरीमाथि ज्यान मार्ने उद्देश्यले सवारीसाधन प्रयोग गरी आक्रमण गरेको तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । उनी नेपाल–भारत सीमाक्षेत्रमा हुने मदिरा तस्करीमा समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा भूमिकाबारे समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक पाठकले जानकारी दिनुभएको छ ।

Facebook Comments Box
कागे अष्टमीमा कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो, काग दोष निवारणको विश्वास
१ दिन अगाडि

1.2kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी…

TOP
15 Shares