सिमराको स्टाफ होटलमा सामान्य विवाद घातक बन्यो, चक्कु प्रहारबाट ३८ वर्षीय खड्काको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमराको मेनरोडस्थित सम्झना स्टाफ होटलमा भएको सामान्य भनिएको आपसी विवादले ज्यानै जाने घटना निम्त्याएको छ। शनिबार साँझ भएको विवादका क्रममा चक्कु प्रहार हुँदा ३८ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जीतपुरसिमरा–२ निवासी ठुले राईका २२ वर्षीय छोरा आयुष राईलाई पक्राउ गरेको छ। घटना भएपछि होटलबाट फरार भएका राईलाई प्रहरीले जीतपुरसिमरा–१६ स्थित धान खेतबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले पुष्टि गरेका छन्।
प्रहरीका अनुसार होटलको भान्सामा खड्का र राईबीच आपसी विवाद भएको थियो। विवाद बढ्दै गएपछि राईले भान्सामै रहेको चक्कु प्रहार गर्दा खड्काको घाँटीमा गम्भीर चोट लागेको थियो।
चक्कु प्रहारबाट घाइते खड्कालाई तत्काल उपचारका लागि सिमरा नगर अस्पताल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि अवस्था गम्भीर भएपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको थियो। तर उपचारकै क्रममा शनिबार साँझ ६ः४० बजे खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना लगत्तै फरार भएका राईको खोजीका लागि प्रहरीले विभिन्न सम्भावित स्थानमा निगरानी बढाएको थियो। सोही क्रममा प्रहरी टोलीले उनलाई जीतपुरसिमरा–१६ स्थित धान खेतबाट नियन्त्रणमा लिएको हो।
घटनापछि प्रहरीले होटल परिसरबाट आवश्यक प्रमाण संकलन गर्नुका साथै घटनाका प्रत्यक्षदर्शी तथा सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गरिरहेको जनाएको छ। खड्का र राईबीच विवाद सुरु हुनुको वास्तविक कारण तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
पक्राउ परेका राईमाथि उपलब्ध प्रमाण र घटनाको प्रकृतिका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
सामान्य विवादकै क्रममा धारिलो हतियार प्रयोग हुँदा ज्यान जाने अवस्था सिर्जना भएपछि घटनाले सिमरा क्षेत्रमा समेत सुरक्षा र सामाजिक व्यवहारप्रति गम्भीर प्रश्न उठाएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धानपछि मात्रै विवादको वास्तविक कारण र घटनाको सम्पूर्ण क्रम स्पष्ट हुने जनाएको छ।

Facebook Comments Box
कागे अष्टमीमा कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो, काग दोष निवारणको विश्वास
१ दिन अगाडि

1.2kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी…

TOP
30 Shares