
दशैं–तिहारपछि बालेन सरकारविरुद्ध ठूलो विद्रोह हुने वर्षमान पुनको दाबी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको वर्तमान सरकारविरुद्ध जनतामा आक्रोश बढ्दै गएको दाबी गर्दै दशैं, तिहार र छठपछि ठूलो विद्रोह हुने बताएका छन्।
नेकपा गण्डकी प्रदेश सम्पर्क समितिले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा पुनले सरकार स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवार ढंगले अघि बढिरहेको आरोप लगाए। उनले सरकारविरुद्ध जनता सडकमा उत्रने अवस्था आउन सक्ने भन्दै त्यसको नेतृत्व र व्यवस्थापनका लागि पार्टी पंक्तिलाई अहिलेदेखि नै तयारी अवस्थामा रहन आग्रह गरे।
पुनले आफूहरु जनतामाझ सरकारका कामकारबाहीबारे प्रश्न उठिरहेको अवस्थामा जनताको असन्तुष्टिलाई संगठित रूपमा बुझ्ने र त्यसअनुसार राजनीतिक तयारी गर्ने पक्षमा रहेको बताए।
उनले विगत ३५ वर्षमा केही पनि भएन भन्ने प्रचार गरेर शक्तिमा पुगेकाहरु प्राकृतिक विपद्का बेला उद्धार तथा राहतमा प्रभावकारी हुन नसकेको आरोप लगाए। किसानले मल नपाएको, सर्वसाधारणले ग्यासको अभाव झेल्नुपरेको तथा महँगी बढ्दा पनि सरकारको प्रभावकारी उपस्थिति महसुस हुन नसकेको उनको भनाइ थियो।
‘३५ वर्षमा के गरे भनेर प्रश्न गर्नेहरुको सरकारले रसुवा बाढीपछि उद्धार र राहतमा के गरे ? जनताको चुल्होमा ग्यास छैन, के गरे ? किसानलाई मल छैन, के गरे ? महँगीले आकाश छोएको छ, के गरे ?’ पुनले प्रश्न गरे।
उनले भने, ‘यो स्वेच्छाचारी, निरंकुश र असफल सरकारविरुद्ध जनतामा व्यापक आक्रोश र निराशा बढेको छ। दशैं, तिहार र छठपछि जनता स्वतःस्फूर्त रूपमा विद्रोहका लागि सडकमा आउन सक्छन्। त्यसको व्यवस्थापनका लागि हामीले आफूलाई तयारी अवस्थामा राख्नुपर्ने भएको छ।’
सरकारको कार्यशैलीका कारण राष्ट्रियता र राष्ट्रिय स्वाधीनता कमजोर हुँदै गएको दाबी गर्दै पुनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि पनि जनताले विद्रोह गर्ने समय आएको बताए।
पुनले विगत ३५ वर्षलाई मुलुकको अभिशापका रूपमा चित्रण गरेर जनतालाई भ्रमित गर्ने प्रयास भइरहेको आरोप लगाउँदै सोही अवधिमा उच्च प्रशासनिक तथा सैनिक नेतृत्वमा रहेर राज्यसत्तामा प्रभाव जमाएकाहरुलाई वर्तमान सरकारले महत्वपूर्ण जिम्मेवारी दिइरहेको दाबी गरे। पछिल्लो समय भएका राजदूत नियुक्तिमा पनि त्यस्ता व्यक्तिहरुले अवसर पाएको उनको भनाइ थियो।
उनले नेकपाले पार्टी पुनर्गठन तथा सुदृढीकरणसँगै वाम शक्तिबीच एकता, लोकतान्त्रिक शक्तिबीच सहकार्य तथा व्यवस्था र संविधानको रक्षाका लागि अन्तर्राष्ट्रिय जनमत निर्माण गर्ने कामलाई एकसाथ अघि बढाइरहेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीले ‘थ्री डी’ अर्थात् ‘युथ डेमोग्राफी’, ‘डिजिटल ट्रान्सफर्मेशन’ र ‘डायस्पोरा’लाई प्रभावकारी रूपमा प्रयोग गर्दै स्थापित दलहरुविरुद्ध ‘३५ वर्षमा केही पनि भएन’ भन्ने भाष्य स्थापित गर्न सफल भएको पुनको विश्लेषण थियो। त्यसलाई चुनौती दिन नेकपाले पनि ती क्षेत्रमा बलियो उपस्थिति जनाउने कार्ययोजनासहित अघि बढिरहेको उनले बताए।
आगामी महाधिवेशनपछि पार्टीका सबै संरचनामा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने तयारी भइरहेको जानकारी दिँदै पुनले रोजगारी तथा अध्ययनका सिलसिलामा विश्वभर छरिएका नेपालीका मुद्दालाई पनि पार्टीको राजनीतिक एजेण्डाका रूपमा अघि बढाउने बताए।
नेपालको कुल जनसंख्याको ठूलो हिस्सा १५ देखि ३९ वर्ष उमेर समूहमा रहेको उल्लेख गर्दै उनले युवालाई पार्टीको नेतृत्वदायी भूमिकामा ल्याउने विषयमा पार्टीभित्र गम्भीर बहस भइरहेको जानकारी दिए।
समाज
थप सामाग्री-
रसुवा–नुवाकोटका बाढीपीडितको पीडामा भगबती चौधरीको साथ, ‘जग्गा सरकारले देओस्, घर हामी बनाउँछौँ’
-
आज असोज ४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
प्रहरी सरुवाको गृहकार्यमा ढिलाइ, डीआईजीदेखि इन्स्पेक्टरसम्मको सूची गृह मन्त्रालयमै रोकियो
-
मुस्ताङमा रसुवा बाढीको असर : भदौमा पर्यटक आगमन ४७.७८ प्रतिशत घट्यो
-
भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि घले दम्पतीद्वारा ५७ करोड ८५ लाख सहयोग घोषणा
कागे अष्टमीमा कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो, काग दोष निवारणको विश्वास
१ दिन अगाडि
1.2kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी…





