एमाले फुटाउने प्रयास सफल हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफूलाई कमजोर बनाउने तथा पार्टी विभाजन गराउने प्रयास भइरहेको भए पनि त्यस्ता प्रयास सफल नहुने दाबी गरेका छन्।

१५औँ संविधान दिवसका अवसरमा शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले आफूले राजनीतिक जीवनमा अनेकौँ चुनौती र संघर्ष सामना गर्दै अहिलेको अवस्थामा आइपुगेको भन्दै पछिल्ला गतिविधिबाट आफू विचलित नहुने बताए।

सञ्चारमाध्यममा एमाले विभाजन, नेतृत्व परिवर्तन तथा नयाँ अध्यक्ष चयनका विषयमा भइरहेका चर्चाप्रति टिप्पणी गर्दै ओलीले त्यस्ता समाचारप्रति असन्तुष्टि जनाए। उनले पार्टी फुटाउने र अमुक व्यक्तिलाई अध्यक्ष बनाउने भन्दै भइरहेका प्रचारले एमालेलाई कुनै असर नपर्ने बताए।

‘सञ्चारमाध्यममा पार्टी फुटाउने, अध्यक्ष अमुक व्यक्ति बन्ने भनेर प्रचार गरिए पनि विरोधीले खुट्टा तानेर एमालेलाई केही फरक पार्न सक्दैन,’ ओलीले भने।

उनले पार्टीभित्र केही व्यक्तिलाई अगाडि सारेर आफूविरुद्ध गतिविधि भइरहेको दाबी गर्दै यस्ता प्रयास विगतमा पनि धेरैपटक भएको बताए। ‘अर्को छापामा देखियो फेरि– फलानो अध्यक्ष हुने अरे, फलानो महासचिव हुने अरे। भित्रभित्र पार्टी फुटाउने एउटा कागज तयार हुँदै छ अरे। कति खेती गरेको ?’ उनले प्रश्न गरे।

ओलीले आफूलाई महाभारतका भीष्मपितामहसँग तुलना गर्दै आफूविरुद्ध ‘शिखण्डी’ अगाडि सारिएको दाबी गरे। भीष्मपितामहजस्तै आफू पनि अनेकौँ प्रहारका बाबजुद मैदानमा खडा रहेको उनको भनाइ थियो।

‘शिखण्डी अगाडि राखेर अहिलेसम्म पनि शिखण्डीहरूलाई अगाडि राखेकै छन्। तैपनि भीष्मपितामह शरशय्यामा ढलेका छैनन्, केपी ओली त्यसरी शरशय्यामा ढलेको छैन, खडा छ। फेरि पनि मैदानमा छ,’ ओलीले भने।

आफूले पार्टी विभाजन गराउने प्रयासलाई नजिकबाट बुझिरहेको उल्लेख गर्दै ओलीले त्यस्ता प्रयास सफल हुन नदिने बताए। ‘मैले कोसिसहरू पनि बुझेको छु, तर पार लाग्नेवाला छैन,’ उनले भने।

आफ्नो राजनीतिक यात्रामा एउटामात्र नभई ‘१० वटा महाभारत’ लडेर यहाँसम्म आइपुगेको दाबी गर्दै ओलीले एमालेका नेता–कार्यकर्तालाई जनतामाझ पुगेर राजनीतिक गतिविधि अघि बढाउन आग्रह गरे।

‘मैले आफ्नो राजनीतिक जीवनमा एउटा महाभारत होइन, १० वटा महाभारत लडेर आएको छु। यहाँ आइपुगेको यत्तिकै होइन,’ ओलीले भने, ‘तमाम एमालेहरूलाई आग्रह गर्न चाहन्छु– जनताका बीचमा जानुहोस्, जनतालाई सचेत बनाउनुहोस् र अगाडि बढ्नुहोस्। यो देश हाम्रो हो, बिग्रिन नदिऔँ। सच्याऔँ।’

Facebook Comments Box
कागे अष्टमीमा कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो, काग दोष निवारणको विश्वास
१ दिन अगाडि

1.2kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी…

TOP
15 Shares