एमाले कार्यदलमा आज निर्णायक घम्साघम्सी, ओली नेतृत्वदेखि पार्टी पुनर्गठनसम्म के होला निर्णय?

काठमाडौं । नेकपा एमालेभित्र निर्वाचन पराजयको समीक्षा, पार्टी पुनर्गठन र नेतृत्वको भूमिकालाई लिएर देखिएको मतभेद निर्णायक मोडमा पुगेको छ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दैछ। लामो समयदेखि सहमति जुट्न नसकेको विषयमा आजको बैठकले कुनै निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ९ बजे बस्ने बैठकमा निर्वाचनमा भएको पराजयको समीक्षा, त्यसको राजनीतिक तथा सांगठनिक जिम्मेवारी, पार्टी पुनर्गठन र अध्यक्ष केपी शर्मा ओलीको भूमिकालगायत विषयमा छलफल हुने बताइएको छ।

बैठकमा अध्यक्ष ओलीको निर्देशनमा कार्यदलका सदस्य नरहेका नेता प्रदीप ज्ञवालीले तयार पारेको २९ पृष्ठको छुट्टै प्रतिवेदनसमेत छलफलमा ल्याइने भएको छ। सार्वजनिक विवरणअनुसार ज्ञवालीको प्रतिवेदनमा महासचिव शंकर पोखरेलको प्रतिवेदनमा समेटिएको नेतृत्व परिवर्तनसम्बन्धी विषयलाई प्राथमिकताका साथ समेटिएको छैन।

ज्ञवालीको प्रतिवेदनले ओली नेतृत्वको राजनीतिक तथा सांगठनिक भूमिकाको व्याख्या गर्दै निर्वाचनमा भएको पराजयलाई कुनै एक व्यक्तिको कमजोरी वा भूमिकासँग मात्र जोडेर निष्कर्ष निकाल्न नहुने धारणा अघि सारेको बताइएको छ।

यसअघि कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र सदस्य सचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन तयार गरेका थिए। दुवै प्रतिवेदनलाई समेटेर साझा दस्तावेज तयार गर्ने प्रयास भए पनि नेतृत्वको भूमिका र निर्वाचन पराजयको जिम्मेवारी निर्धारण गर्ने विषयमा सहमति जुट्न सकेन।

त्यसपछि थापा, उपाध्यक्ष विष्णु पौडेल र पोखरेललाई थप गृहकार्य गरी साझा धारणा तयार गर्ने जिम्मेवारी दिइएको थियो। तर, उक्त प्रयासबाट पनि सहमति ननिस्किएपछि ज्ञवालीको छुट्टै प्रतिवेदन कार्यदलको छलफलमा प्रवेश गरेको हो।

ज्ञवाली कार्यदलका सदस्य नरहेकाले उनको प्रतिवेदनलाई कार्यदलको आधिकारिक प्रतिवेदनका रूपमा स्वीकार गर्न नसकिने धारणा पुनर्गठन पक्षधर नेताहरूले राख्दै आएका छन्। उनीहरूले कार्यदललाई दिइएको म्यान्डेटअनुसार सदस्यहरूले तयार पारेका प्रतिवेदनलाई नै आधार बनाएर निर्णय गर्नुपर्ने बताउँदै आएका छन्।

यता कार्यदलका एक सदस्यका अनुसार आजको बैठकमा महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनलाई मुख्य आधार बनाएर निर्णयमा पुग्ने तयारी छ। कार्यदलमा पुनर्गठन पक्षधरको बहुमत रहेको दाबी यसअघि सार्वजनिक भए पनि वास्तविक मत विभाजन कस्तो छ भन्ने विषय बैठकको निर्णयबाटै स्पष्ट हुने देखिएको छ।

विवादको मुख्य केन्द्रमा निर्वाचनमा भएको पराजयको समीक्षा र त्यसको राजनीतिक तथा सांगठनिक जिम्मेवारी निर्धारण रहेको छ। पोखरेलको प्रतिवेदनमा कार्यकर्ताबाट संकलन गरिएका सुझावलाई आधार बनाइएको बताइएको छ भने थापाको प्रतिवेदनले वर्तमान नेतृत्वको निरन्तरताको पक्ष लिएको विवरण सार्वजनिक भएको छ।

ज्ञवालीको प्रतिवेदनले पनि नेतृत्व परिवर्तनको प्रस्तावलाई अघि नबढाएको बताइएकाले एमालेभित्रको बहस अझ पेचिलो बनेको छ। यसले निर्वाचन समीक्षासँगै पार्टीको आगामी सांगठनिक दिशा र नेतृत्वबारेको विवादलाई समेत थप सतहमा ल्याएको छ।

आजको बैठकमा सहमति जुट्न नसके विवादित विषयलाई थप माथिल्लो तहमा लैजाने सम्भावना छ। त्यसपछि एमाले सचिवालयको बैठक बस्ने र आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डासमेत तय गर्ने तयारी रहेको बताइएको छ।

यसकारण आजको कार्यदल बैठकलाई एमालेभित्र निर्वाचन पराजयको जिम्मेवारी, पार्टी पुनर्गठन र अध्यक्ष ओलीको नेतृत्वबारे चलिरहेको बहस कुन दिशामा अघि बढ्छ भन्ने निर्धारण गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ।

Facebook Comments Box
कागे अष्टमीमा कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो, काग दोष निवारणको विश्वास
१ दिन अगाडि

1.2kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी…

TOP
15 Shares