सँगै मदिरा सेवन गरेका साथीले पेट्रोल छर्केर आगो लगाउँदा घाइते चौधरीको मृत्यु

दाङ । सँगै बसेर मदिरा सेवन गरेका साथीले पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका दाङका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजपुर गाउँपालिका–२ निवासी ४९ वर्षीय रुपलाल चौधरी रहेका छन् । शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेर गम्भीर घाइते भएका चौधरीको आइतबार बिहान ६ बजे नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दाङ प्रहरीले दिएको जानकारीअनुसार शनिबार दिउँसो करिब २ः२० बजे राजपुर गाउँपालिका–२ खालगैरामा सोही ठाउँका ३८ वर्षीय त्रिलोक सिंह कार्कीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर चौधरीको शरीरमा छर्की आगो लगाएका थिए ।

प्रहरीका अनुसार दुवै जनाले सँगै बसेर मदिरा सेवन गरेका थिए । सोही क्रममा विवाद भएपछि आवेगमा आएर कार्कीले चौधरीमाथि पेट्रोल छर्केर आगो लगाएको बयान दिएका छन् । यद्यपि विवादको वास्तविक कारण भने खुल्न सकेको छैन ।

आगोले गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि लमही अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको थियो ।

घटनापछि फरार भएका कार्कीलाई प्रहरीले खोजतलास गर्ने क्रममा लमही नगरपालिका–५ रातोडाँडाबाट नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
TOP
15 Shares